नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ ।
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो ।
झापाको शिवसताक्षी नगरपालिकामा जापान सरकार र नगरपालिकाको लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा १ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन जापान सरकारको सहयोगमा बनेको हो ।
जिल्लामा रहेकामध्ये पुरानो पर्व धुले मेलाको यस वर्षको अन्तिम दिन बिहीबार मङ्गला गाउँपालिका –३, बरङ्जामा शुरु भएको छ । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुलेका स्थानीयको भनाई छ । ५४ घर कुरिया मगरहरुको मात्र यसमा सहभागिता रहन्छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।
बाजुरामा तीस प्रतिशत धान रोप्ने काम सम्पन्न भएको छ । असार नलाग्दै किसानलाई रोपाईको चटारो सुुरु भएको छ । जिल्लाका चार नगरपालिका र पाँच वटा गाउँपालिकाका अधिकांश ठाउँमा धान खेती हुनेगरेको छ ।
डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ स्थानीय सातफरी आधारभूत विद्यालयका शिक्षक हुनुहुन्छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका नदी किनारको वन क्षेत्र उत्खनन गरेर बालुवा तस्करी भएको छ । नगरपालिकाको वडा ६ रुधौलाघाट नाकासँग जोडिएको वन क्षेत्रबाट बालुवा तस्करी भएको हो । नदीको सतहमा बालुवा पाउन छाडेपछि वन क्षेत्र आसपासबाट बालुवा निकाल्न थालिएको छ ।
गल्याङ नगरपालिका–३ लल्याङमा करिब ८० घर धुरी रहेको बस्ती पहिरोका कारण उच्च जोखिममा परेको छ ।
बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोर्खाको गाम्चा घर भई हाल चन्दागिरी चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्षीय महिला घाइते हुनुभएको हो ।
झापाकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि बिहीबार पनि मन्त्रालयगत छलफल जारी छ ।