• ५ पुस २०८१, शुक्रबार

कोरिडोरमा खसेको चट्टान हटाउन पाँच दिन

blog

सडक खुलाउन प्रयोग गरिएको डोजर । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, असोज १५ गते । 
कालीगण्डकी कोरिडोरमा पहिरोसहित खसेको ठुलो चट्टान हटाइएसँगै सडक सुचारु भएको छ ।

असोज १० गते कोरिडोरको रिडी रुद्धवेनी सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–१ विष्णुपञ्जरमा सडक माथिबाट ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको  थियो । ठुलो चट्टान  फुटाउनका लागि ब्रेकर वाला डोजर प्रयोग गरी सडकमा रहेको ठुलो चट्टान हटाई आज (सोमबार)बाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

बिष्णुपञ्जरमा सडक अवरुद्ध हुँदा रिडी, रुद्धवेनी, वामीटक्सार चल्ने लामो तथा छोटो दूरीका सवारी साधनलाई रिडीको बजारबाट वैकल्पिक मार्ग प्रयोग गराएर पास गराइएको थियो ।

गत वर्ष पनि सोही स्थानमा माथिबाट ठुलो पहिरो खसेका कारण केही दिन सडक अवरुद्ध भएको थियो । रिडी रुद्धवेनी सडक धेरै व्यस्त हुने सडक मध्येको एक सडक हो । सो सडक भएर बाग्लुङसम्मका सवारी तथा खाद्यान्न लगायत निर्माणका सामग्रीहरू ढुवानी हुने गर्दछ ।

रिडी, रुद्धवेनी हर्मिचौर सडकखण्ड कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी  मालढुङ्गा सडक योजना कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले जानकारी दिनुभयो । सो सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।