• ७ पुस २०८२, सोमबार

पाँच वर्षदेखि भवन अलपत्र

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस ७ गते । निर्माण कम्पनीको लापर्बाही र बेवास्ताले बाँकेको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । २०७९ सालमा निर्माण पूरा गर्नुपर्ने सो भवन अझै अधुरो छ ।  करिब पाँच वर्षअघि चार करोड २२ लाख ८४ हजार ७१० रुपियाँको लागतमा निर्माण सुरु भए पनि हालसम्म सो भवनको निर्माण करिब ८० प्रतिशत मात्र पूरा भएको छ । 

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अझै २० प्रतिशत काम बाँकी रहेकै कारण सयौँ नागरिक सहज सेवा पाउने अधिकारबाट वञ्चित भएका बताउनुभयो । 

विसं २०७९ फागुन अन्त्यसम्म सो भवन निर्माण सम्पन्न गर्ने गरी थेगिम, श्रीकृष्ण, निसान जेभी (कोहलपुर–११) सँग सम्झौता भएको थियो । गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कागजमा म्याद सकिएको धेरै भइसके पनि भवन निर्माण अझै अधुरो रहेकाले त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेपिरहेको बताउनुभयो । 

वडा नम्बर ५ का वडाध्यक्ष टीकानाथ यादवले सम्झौतामा तोकिएको म्यादभित्र काम सम्पन्न नहुनु गम्भीर लापर्बाही भएको जनाउँदै यसको प्रत्यक्ष मार सेवाग्राहीले भोगिरहेको बताउनुभयो । 

निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम सम्पन्न नगरे सम्झौता अनुसार ठेक्काको धरौटी जफत गरिने, ठेक्का रद्द गरिने तथा सम्बन्धित फर्मलाई कालो सूचीमा राख्न कानुनी प्रक्रिया अघि बढाइने चेतावनी गाउँपालिकाले दिएको छ ।

यसैबिच निर्माण कम्पनीका प्रतिनिधि हिराबहादुर बिसीले समयमै काम पूरा हुन नसकेको स्वीकार गर्दै एक महिनाभित्र भवन सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने बताउनुभएको छ ।