• ७ पुस २०८२, सोमबार

क्षति भएको बबई पुल अझै उस्तै

blog

घोराहीस्थित मर्मत हुन नसकेको बबई नदीको पुल र सडक । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, पुस ७ गते । दाङको घोराही उपमहानगरपालिका अन्तर्गत रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी भइसक्दासमेत मर्मत हुन सकेको छैन । घोराही–धारापानी सडकखण्ड अन्तर्गत पर्ने बबईको उक्त पुल मर्मत नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ । 

विसं २०८१ असारमा आएको बाढीले पुलको उत्तरतर्फको भागमा क्षति पुर्‍याएपछि हाल पुलमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–५, धर्नागाउँ निवासी विमल नेपालीले बताउनुभयो । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको धारापानी जोड्ने मुख्य सडकमा पर्ने उक्त पुल लामो समयसम्म मर्मत नहुँदा सवारी दुर्घटनाको जोखिमसमेत रहेको उहाँको भनाइ छ । 

पर्यटन मार्गका रूपमा रहेको मुख्य सडकको पुल मर्मत गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले भन्नुभयो, “लामो समयसम्म क्षतिग्रस्त पुल मर्मत नहुँदा खाडलमा परेर अर्को दुर्घटना हुन सक्ने खतरा छ । दुर्घटनाबाट बच्नका लागि समयमै पुल मर्मत गर्नु पर्छ ।” बाढीले पुलको किनारा भत्किँदा सडक साँघुरो बनेको छ भने जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने बाध्यता छ । 

पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण सडकखण्ड लामो समयसम्म अलपत्र पर्दा सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको आरोप छ । सडक डिभिजन कार्यालय दाङले भने बजेट अभावका कारण मर्मत कार्य अघि बढाउन नसकिएको जनाएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले मर्मतका लागि बजेट नहुँदा पुलमा क्षति भएको लामो समयसम्म पनि भत्किएको पुल मर्मत हुन नसकेको बताउनुभयो । 

बाढीका कारण क्षति भएको पुलको पर्खाल निर्माणका लागि गत वर्ष नै विभागमा पत्राचार गरी मर्मतका लागि बजेट माग गरिए पनि विभागबाट आवश्यक बजेट प्राप्त नभएकाले हालसम्म मर्मत गर्न नसकिएको बताउनुभयो । सूचना अधिकारी चौधरीले भन्नुभयो, “अहिले सरकारको ध्यान मुख्य सडक बनाउनतर्फ रहेको छ । त्यसले गर्दा पनि सहायक धेरै सडक छुटेका छन् । सोही कारण बबई नदीको पुलमा पनि बजेट आउन सकेको छैन ।” उहाँका अनुसार भत्किएको पुलमा मर्मतका लागि करिब ३० लाख रुपियाँ खर्च लाग्ने अनुमान छ ।