बुटवल समाचारदाता
बुटवल, पुस ७ गते । जलवायु परिवर्तन, वायु तथा जल प्रदूषण, वन विनाश, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनका कारण पर्यावरण संरक्षण विश्वव्यापी साझा सरोकारको विषय बनेको छ । यस्ता चुनौतीले मानव अस्तित्वमै खतरा बढाइरहेको सन्दर्भमा वातावरण जोगाउने जिम्मेवारी राज्यदेखि आमनागरिकसम्म सबैको साझा दायित्व भएकोमा सरोकारवालाले जोड दिएका छन् ।
बुटवलमा वातावरण संरक्षण समाजद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्येता विजय हितानले वातावरण संरक्षणमा राज्यको भूमिका निर्णायक हुने बताउनुभयो । संविधान र कानुनमार्फत वातावरण संरक्षणलाई मौलिक हकका रूपमा सुनिश्चित गर्नु, दीर्घकालीन नीति तथा कार्यक्रम निर्माण गर्नु र प्रभावकारी कार्यान्वयन गर्नु सरकारको मुख्य जिम्मेवारी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “वन, पानी, भूमि, खानी तथा जैविक विविधता संरक्षणका लागि स्पष्ट नीति, कडा अनुगमन र दण्ड जरिबानाको व्यवस्थाबिना वातावरणीय समस्या समाधान सम्भव छैन ।” विकासनिर्माणका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बेवास्ता गर्दा दीर्घकालीन क्षति हुने भन्दै उहाँले सरकार थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी वातावरण अभियन्ता, नागरिक समाज, पत्रकार र उद्यान क्षेत्रका प्रतिनिधिले निजी क्षेत्रको भूमिका पनि वातावरण संरक्षणमा महत्वपूर्ण बन्दै गएको बताउनुभयो । उद्योग, होटेल, निर्माण व्यवसाय र यातायात क्षेत्रबाट हुने प्रदूषण नियन्त्रण नगरेसम्म समस्या समाधान नहुने भन्दै वातावरणमैत्री प्रविधि प्रयोग, फोहोर पानी प्रशोधन, धुवाँ नियन्त्रण, प्लास्टिक प्रयोग घटाउने र नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने सुझाव दिइयो ।