बैतडीका स्थानीय तहका जनप्रतिनिधिले बितेका पाँच वर्षमा करिब ४९ करोड रुपियाँ बेरुजु आउनेगरी मनपरी खर्च गरेका छन्। सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी र सदस्यको सेवा सुविधा ऐन २०७५ (पहिलो संशोधन)ले स्थानीय तहका प्रमुख र उपप्रमुखले स्वकीय सचिव/सल्लाहकार राख्न नपाउने व्यवस्थाविपरीत बैतडीको डिलासैनी गाउँपालिकाले गएको पाँच वर्षमा प्रमुख र उपप्रमुखले खरिदार स्तरको मासिक २६ हजार ६१० रुपियाँ तलब दिनेगरी स्वकीय सचिव/सल्लाहकार राखेर तलब खुवाएको पाइएको छ।
रुकुमपश्चिमका महिला अधिकारकर्मीले आगामी निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । संविधानले तोकेबमोजिम प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्। मानवअधिकारका लागि महिला, एकल महिला जिल्ला सञ्जाल रुकुमपश्चिमले जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरेको ‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक छलफल कार्यक्रममा महिला अधिकारकर्मीले यस्तो बताएका हुन्। अधिवक्ता मनीषा भण्डारीले यो वा त्यो बहानामा महिला प्रतिनिधित्वलाई कम गर्ने कुरा स्वीकार गर्न नसकिने बताउनुभयो। उहाँले गठबन्धनका नाममा महिला प्रतिनिधित्व कम हुन सक्नेतर्फ दलहरू सचेत रहन आग्रहसमेत गर्नुभयो।
बिलमा चामल देखाएर चिनीको ढुवानी गरेको अवस्थामा रुपन्देहीमा दुुईवटा ट्रक सहित ठुला मात्रामा चिनी बरामद गरेको छ । भारतबाट अवैध रूपमा भित्राएर नवलपरासीमा गोदाम गरी दाङतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रुपन्देहीबाट चिनी र चामल बरामद गरेको हो ।
महिला, बालबालिका र युवाका नीति निर्माणमा स्थानीय सरकारले नागरिक समाजलाई बेवास्ता गर्दै आएको गुनासो नागरिक समाजका अगुवाको छ। वीरेन्द्रनगरमा भेला भएका कर्णाली प्रदेशका चार जिल्लामा क्रियाशील नागरिक समाजका प्रतिनिधिले सरकारी निकायले आफूहरूप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। तीनै तहका सरकारले नीति निर्माणदेखि सार्वजनिक महत्त्वका सवालमा नागरिक समाजलाई समेट्न नसकेको उनीहरूको गुनासो छ।
राष्ट्रिय सडक सञ्जालमा जोडिएको दक्षिणी हुम्लामा नौ किलोमिटर सडकमा मोटरसाइकल चढेको एक हजार रुपियाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रदेखि चङ्खेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको छ। मोटरसाइकलवालाले आफूले तोकेको भाडा नदिए नजाने जवाफ दिने हुँदा यात्रुले बाध्य भएर चर्को भाडा तिर्नुपरेको हो।
ललितपुर पिन्छेबहाल–७ निवासी सब्बु महर्जन चित्र बनाउन निकै रमाइलो मान्नुहुन्छ। मानभवनको एवियम उच्च माविमा कक्षा–७ मा पढ्नुहुने महर्जन हरेक शनिबार पकनाजोलस्थित सातोआकी भवनमा चित्रकलाबारे अतिरिक्त कक्षा लिनुहुन्छ। चित्रकलाको कक्षा लिन थालेपछि महिनाको एक पटक उपत्यकाको विभिन्न धार्मिक, ऐतिहासिक स्थानको भ्रमण गर्दै त्यहाँको सम्पूर्ण जानकारीसमेत लिन पाउँदा महर्जनलाई धेरै कुरा सिक्न पाएको अनुभव भएको बताउनुभयो।
इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई तयारी अवस्थामा राखिएको छ। भदौ २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज योसीः उठाएपछि विधिवत् रूपमा सुरु भएको हो। शुक्रबार २४ गते इन्द्रजात्राका दिन राष्ट्रपतिलगायतका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ।
कास्कीदेखि गुल्मी जोड्ने छोटो सडक २५ वर्षदेखि अलपत्र परेपछि स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका, पर्वतको फलेबास नगरपालिका र महाशिला गाउँपालिकाका जनप्रतिनिधिले चासो देखाएका छन्। २०५४ सालमा स्याङ्जाका तत्कालीन सांसद हितकाजी गुरुङ र पर्वतका जिल्ला विकास समिति सभापति, वर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा सडक निर्माणको काम सुरुवात भएको थियो।
पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित ४० वर्ष पुराना आफ्नै संरचनामा डोजर चलाएको छ। व्यावसायिक प्रयोगका लागि बनाइएको भवन जीर्ण बन्दै गएपछि पोखरा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय भवनलगायत ३२ वटा सटरहरू भत्काएको छ। महानगरपालिकाकै स्वामित्वमा रहेका यी दुईवटा भवन महानगर प्रमुख धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोलीले भत्काएको हो। उक्त भवनको माथिल्लो तलामा पुस्तकालय, अर्कोमा ग्यालरी र भुइँ तलामा सटरहरू थिए ।
व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ। सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।
चितवनमा पछिल्लो एक महिनाको अवधिमा जापानिज इन्सेफ्लाइटिसका नौ जना बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार साउन २० गतेदेखि भदौ २० गतेसम्मको अवधिमा अस्पताल आएका २२ जना शङ्कास्पद बिरामीको जाँच गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही दिनयता सङ्क्रमण फैलँदो क्रममा रहेको जानकारी पाएपछि मङ्गलबार नै जिल्लाका प्रमुख अस्पताललाई शङ्कास्पद बिरामी भेटिनासाथ जापानिज इन्सेफ्लाइटिसको जाँच गर्न स्वास्थ्य कार्यालयले निर्देशन दिइसकेको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई व्यापार व्यवसायका लागि थप सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्षसमेत रहनुभएका दाहालले आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्त्वपूर्ण साझेदार भएकाले अनुकूल वातावरण निर्माण गर्न आफू लागिपर्ने बताउनुभएको हो ।
लगातार दोस्रो वर्ष नेपालको मानव विकास सूचकाङ्कमा गिरावट आएको छ । बिहीबार सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, २०२१–२०२२ नेपालको मानव विकास सूचकाङ्क लगातार दुई वर्ष खस्किएको उल्लेख गरिएको हो । सो प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ०.६०२ रहेको छ । सन् २०१९ मा ०.६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ०.६०४ थियो । २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ०.६०१ थियो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले अवैध तरिकाले व्यापार व्यवसाय गर्नेविरुद्ध कडा कारबाही गर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले यहाँ बुधबार आयोजना गरेको अन्तक्र्रियामा महानिर्देशक अधिकारीले व्यापारका नाममा अवैध माल मगाउने, भण्डारण गर्ने र पैठारी गर्नेसँग राजस्व अनुसन्धान विभाग कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुः ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उहाँको निधनको खबर पाउँदा आफूलाई धेरै दुः ख लागेको बताउनु भएको छ ।