• २१ पुस २०८१, आइतबार

पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थ मन्त्री डा. महत

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, वैशाख २३ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताउनुभएको छ। नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका नाम्सापुराण गुम्बामा मूर्तिको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ। यो थोरै आम्दानीलाई देशैभरको विकास निर्माणमा पुर्‍याउनुपर्ने हुन्छ। स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ।’ 

मन्त्री डा. महतले नेपाली कांग्रेसले विकास निर्माणलाई सधैँ प्राथमिकता दिँदै आएको बताउनुभयो। कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसबेला जनताका आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको हुने उहाँको भनाइ थियो। 

दुप्चेश्वर गाउँपालिकामा केही समय अगाडि कुनै पूर्वाधार थिएन। पुल, सडकलगायतका विविध पूर्वाधारको विकास भएको छ, शिवपुरी क्षेत्रमा व्यापक विद्युतीकरण भएको छ। उहाँले भन्नुभयो, ‘‘अहिले पनि यहाँको विकास निर्माण, जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण हो, अप्ठ्यारो पर्दा, बालबालिकालाई स्कुल जाँदा कुनै समस्या नआओस् भन्ने हो, त्यसैले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ।’’

‘अहिले यहाँ दुईवटा महत्त्वपूर्ण बाटो निर्माण भएका छन्। प्रदेश सरकारको लगानीमा सिधै राजधानी काठमाडौं–खोले गाउँ–महाकाली हुँदै दुप्चेश्वर जोडिदैछ। ट्र्याक जोडिसकेको छ, अब पक्की बाटो बन्दैछ। केन्द्र सरकारको लगानीमा गँगटे त्रिशूलीदेखि नै गोल्फु भन्ज्याङसम्म जाने बाटो बनेको छ’’, अर्थमन्त्री महतले भन्नुभयो। 

बाटोसँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र विकासका आवश्यकता रहेको उहाँको भनाइ छ। उहाँले आवश्यकता बजेटले भ्याएसम्म काम गर्दै जाने बताउनुभयो। अर्थमन्त्री महतले भन्नुभयो, ‘‘यहाँ दुप्चेश्वर प्रसिद्ध तीर्थस्थल छ। यो तीर्थस्थलमा देशैभरबाट तीर्थालु आउँछन्। यसलाई पनि हामीले सुविधासम्पन्न बनाउनु छ। यसबाहेक घ्याङफेदीमा पुराना गाविस गाउँपालिकामा एकीकृत छ।’’ 

उहाँले आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठताका साथ जनताको सेवामा समर्पित हुने बताउनुभयो। 

‘‘म यही क्षेत्रको बासिन्दा हुँ, मैले प्राप्त जिम्मेवारी उच्च कर्तव्यनिष्ठताका साथ जनताको सेवामा म समर्पित हुनेछु’’, उहाँले भन्नुभयो, ‘‘छहरे–टोखा सुरुङ मार्गदेखि समग्र नुवाकोटको कृषि, पर्यटन र उद्योग व्यवसायको विकासमा म समर्पित हुनेछु।’’

उनले रोजगारीको आवश्यकता, हरेक घर परिवारको आम्दानी श्रोत सुनिश्चित होस् भन्ने जनताको आकाङ्क्षालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए। उहाँले भन्नुभयो, ‘‘हाम्रो उद्देश्य जनताको सेवा मात्र हो, जनताको आवश्यकता र आकाङ्क्षाका अगाडि व्यक्तिगत आकाङ्क्षा र आवश्यकता गौण हुन्।’’ 

कार्यक्रममा डा. महतले भन्नुभयो, ‘‘हामी सबै धर्म, संस्कार, नैतिक मूल्य र मान्यताले बाँचेका छौँ। हजारौँ वर्षदेखि हामी एक अर्काप्रति सद्भाव बाँड्दै अगाडि बढेका छौँ। त्यो हाम्रो महान् धर्म संस्कृति र त्यसले सिकाएको पाठका आधारमा हामी सञ्चालित छौँ। प्राचीन छेवाङ ग्लाङ ग्याङ छालिङ गुम्बामा बुद्धपछिको बुद्ध पद्मसम्भव गुरु रिम्पोचेको मूर्ति स्थापित भएको छ। यसले शान्ति, सद्भाव र आत्म ज्ञान विकास गर्न मद्दत पुग्नेछ।’’