• १५ असार २०८२, आइतबार

जलयात्रामार्फत पर्यटन प्रवर्धन गरिँदै

blog

डोटी समाचारदाता

डोटी, असार १५ गते । कर्णाली र सेती नदीमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाले जलयात्रा ‘‍र्‍या‌फ्टिङ’ मार्फत पर्यटन प्रवर्धन गर्ने योजना बनाएको छ । गाउँपालिकाको क्षेत्रभित्र सेती र कर्णाली नदीको करिब ६५ किलोमिटर भूभाग पर्छ । 

बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाका अनुसार आफ्नो गाउँपालिका क्षेत्रमा पर्ने सेती र कर्णाली नदीको भूभागलाई साहसिक जलयात्रा गर्न चाहने स्वदेशी विदेशी पर्यटकलक्षित गरेर सो क्षेत्र आसपासका स्थानीय नागरिकको सहभागितामा जलयात्रासम्बन्धी तालिम, सामग्री सहयोग प्रचारप्रसारलगायतका कार्यमार्फत पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको छ । अध्यक्ष गड्सिलाले भन्नुभयो, “हामीले तीन पटक सेती र कर्णाली नदीमा गाउँपालिका पदाधिकारी, कर्मचारीसहित स्थानीय सहभागी भएको टोलीले सफल रूपमा जलयात्रा गरिसकेका छौँ ।”

जलयात्रासँग सम्बद्ध व्यवसायीमार्फत स्थानीय युवालक्षित तालिम प्रदानलगायतका तयारी भइरहेको छ । सेती कर्णालीमा लगातार तीन/चार दिनसम्म ‘‍र्‍या‌फ्टिङ’ गर्न सकिन्छ । स्थानीय उत्पादन र संस्कृतिलाई जलयात्रा गर्न आउने पर्यटकसँग जोडेर लैजाने योजना गाउँपालिकाको रहेको छ । बोगटान फुड्सिल गाउँपालिका–३, कानाचौरका स्थानीय रामबहादुर बुढाले भन्नुभयो, “यस क्षेत्रमा पर्यटन प्रवर्धनका काम गरिएमा स्थानीयको आर्थिक उपार्जनमा थप सहयोग पुग्न सक्छ ।”

कर्णाली नदीलाई नेपालको सबैभन्दा लामो नदीका रूपमा चिनिन्छ । कर्णाली र सेती नदी जलयात्राका लागि रोमाञ्चक र उपयुक्त रहेको जलयात्रासँग सम्बद्ध पर्यटन व्यवसायीको भनाइ रहेको छ । कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिका सञ्चालन तथा नेपाल एसोसिएसन अफ र्‍या‌फ्टिङ एजेन्सिज (नारा) का कार्यवाहक महासचिव देवराज जैसीले लामो समयदेखि सेती र कर्णाली नदीमा स्वदेशी र विदेशी पर्यटकलाई ल्याएर जलयात्रा गराउँदै आएको बताउनुभयो । पछिल्ला समयमा बोगटान फुड्सिल गाउँपालिकाले जलयात्रामार्फत पर्यटन प्रवर्धनका क्रियाकलाप गरेको देख्दा थप हौसला प्राप्त भएको बताउनुभयो ।