लीलाधर वली
घोराही, असार १५ गते । दाङमा करिब ३० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । असारको १४ सम्म जिल्लामा सिँचाइ सुविधा भएको करिब ३० प्रतिशत खेतमा किसानले धान रोपाइँको काम सकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा धान रोपाइँ हुन नसकेको समयमा देउखुरी क्षेत्रमा रोपाइँ लगभग सकिन थालेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ । सूचना अधिकारी लामिछानेका अनुसार देउखुरी क्षेत्रको लमही नगरापलिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिका अन्तर्गत बाह्रै महिना सिँचाइ सुविधा भएका ठाउँहरुमा किसानले धान रोपेका छन् ।
जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । सूचना अधिकारी लामिछानेले भन्नुभयो, ‘अहिलेसम्मको अवस्था हेर्ने हो भने सबैभन्दा बढी अर्थात् ९० प्रतिशत रोपाइँ देउखुरीको राप्ती गाउँपालिका र लमहीमा सकिएको छ । तर अन्य ठाउँमा धान रोप्नेगरी वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन ।’ राप्ती गाउँपालिका र लमही नगरपालिकामा प्रगन्न सिँचाइ आयोजनाअन्तर्गत बाह्रै महिना सिँचाइको सुविधा हुने गरेको छ ।
सिँचाइको सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छ । ब्याड राख्नेदेखि खेत पहिलो पटक जोतेर रोपाइँ गर्ने तयारीमा किसान छन सूचना अधिकारी पृथ्वीराज लामिछानेले भन्नुभयो,‘तर रोपाइँका लागि पानीको व्यवस्था नहुँदा रोप्न सकेका छैनन् ।’ खासगरी दाङ उपत्यका क्षेत्रमा आकाशेपानी परेपछि सिँचाइका कुलामा समेत पानी आउने भएकाले ढिला रोपाइँ हुने गरेको छ ।
पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले पानी परेपछि धमाधम रोपाइँ हुने अवस्था रहेको बताउनुभयो । जिल्लामा धान खेती हुने ३७ हजार दुई सय २५ हेक्टर खेतमा रोपाइँ हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी लामिछानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार गतवर्ष जिल्लामा ३७ हजार दुई सय २५ हेक्टरमा धानखेती भएको थियो ।
जिल्लामा पछिल्लो समय धानखेती हुने क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा तरकारी खेतीसँगै प्लटिङ हुने गरेका कारण बर्सेनि खेतीयोग्य जमिन घट्दै गएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।