हरिप्रसाद कोइराला
उर्लाबारी, असार १५ गते । एसियाली विकास बैँकको सहयोगमा निर्माणाधीन पूर्व पश्चिम राजमार्गको काँकड्भिट्टा–लौकही सडक अन्तर्गत दोस्रो खण्डमा सबैभन्दा बढी भौतिक प्रगति भएको छ ।
दोस्रो खण्डको लक्ष्मीमार्गमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने थप डेढ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । दोस्रो खण्डमा सडक कालोपत्रे भइसक्दा तेस्रो खण्डको काम भने १३ प्रतिशत मात्र हुँदैछ ।सडक क्षेत्रका घर टहरा नहटाइदिँदा तेस्रो खण्डको काम अघि बढ्न नसकेको हो ।
सडकलाई पाँच खण्डमा ठेक्का लगाइएको छ । दोस्रो खण्डमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँ सम्मको ४० किलोमिटर सडक पर्छ । यस क्षेत्रमा लगभग १८ किलोमिटर जङ्गल क्षेत्र पर्छ । ९ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यो सडकखण्डमा सबैभन्दा बढी काम भएको काँकड्भिट्टा–लौकही सडक योजना(पश्चिम खण्ड)का कार्यालय प्रमुख जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार कम विवाद र समयमा नै साइट क्लियर भएकोले यो खण्डमा २५ प्रतिशत भौतिक र २१ प्रतिशत वित्तीय प्रगति भएको छ ।
२०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गते काम सुरु भएको यस योजनाको तेस्रो खण्डको काम १३ प्रतिशत मात्र सम्पन्न भएको छ । घना आवास क्षेत्र र इटहरी उपमहानगरपालिका क्षेत्र रहेको यसखण्डको काम सबैभन्दा सुस्त गतिमा अघि बढेको छ । मोरङको गोठगाउँबाट इटहरी उपमहानगरपालिकाको लविपुरसम्मको १० दशमलव ७६ किलोमिटर यो खण्ड चार अर्ब सात करोड ३५ लाखमा ठेक्का लागेको हो । यस क्षेत्रमा इटहरीको मुख्य बजार क्षेत्र पर्छ । बजार क्षेत्रमा माटो भरेर वारपार गर्ने सडक बनाउने वा ओभर पास बनाउने भन्ने विषयमा विवाद सुरु भएपछि काम थप अनिश्चित भएको छ । तेस्रो खण्डमा चार महिना थप २ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ ।
पश्चिम खण्ड आयोजनाका सूचना अधिकृत पल्लव श्रेष्ठका अनुसार पश्चिम खण्डमा पर्ने तीन सय मिटर लामा तीन वटा पुलहरूको पाँचौं खण्डमा अलग्गै ठेक्का लागेको छ । पूल तर्फ हालसम्म २२ प्रतिशत भौतिक र १४ दशमलव ५ प्रतिशत वित्तीय प्रगति भएको छ । पश्चिम खण्डका तीन वटा खोला रतुवा, बक्राहा र लोहन्द्रामा तीन सय मिटर लामा पुल निर्माण भइरहेका छन् । पुल निर्माणको काम पुर्वी खण्ड कै निर्माण कम्पनीले गरिरहेको सुचना अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तीन वटा पुल ५ अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेको छ ।
पूर्वी खण्डमा पुल निर्माणको काम कोभेक–सिआरएफजी–तुङ्दी जेभीले गरिरहेका छन् भने सडक इभरस्कोन–कालिका जेभीले निर्माण गरिरहेका छन् ।
पश्चिम खण्डको सडकको दुबै प्याकेजको काम सिआरएफजी–तुङ्दी जेभीले गरिरहेका छन् । मुख्य सहरी क्षेत्रमा ५० मिटरको सडक बन्ने भएकोले ति क्षेत्रमा रहेका घर टहराका बरण्डा, रेलिङ लगायत हटाउन (साइट क्लियरेन्स) बाँकी रहेको छ ।
टहरा हटाउन जेठ २२ गते जिल्ला प्रशासन कार्यालय मोरङले १५ दिने सार्वजनिक सूचना निकाले पनि हालसम्म कसैले टहरा हटाएका छैनन । १२४ घरधनीका आंशिक रूपमा घरमा क्षति पुग्ने देखिएको छ । तर घरधनी, नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र सडक आयोजनाबिच हालसम्म के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।
यता इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले एसियाली विकास बैँकको सहयोगमा निर्माणधीन देशको गौरवको आयोजनालाई यो वा त्यो बहानामा रोक्न नमिल्ने बताउनु भयो । उहाँले केही दिनयता सडक क्षेत्रमा परेका संरचना हटाउने काम सुरु भइसकेको बताउनुभयो । केही उपभोक्ताले केही समय माग्नुभएको छ । ढिलो हुनसक्ला तर, यही कारणले निर्माणको काम नरोकिने प्रवक्ता पोख्रेलले बताउनु भयो । उहाँका अनुसार माटो भरेर सडक बनाउने गरी डिपीआर पास भइसकेकोले त्यसलाई सुधार गर्न प्रयत्न भइरहेको छ ।
मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइ सकिएको बताउँदै उहाँले ओभरपास सडक नगरवासीको माग भएपनि डिपीआर परिवर्तन गर्न सकिने नसकिने टुङ्गो नलागेको जानकारी दिनुभयो ।
काँकड्भिट्टा–लौकही सडकखण्ड अन्तर्गतका सबै प्याकेजको काम २०८३ कात्तिकमा सम्पन्न गर्नुपर्ने छ ।