• १५ असार २०८२, आइतबार

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

blog

भोजपुर, असार १५  गते ।  विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । 

तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । “गाउँपालिकाले यहाँका विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ । बर्सेनि हामीले विद्यार्थीहरूका लागि प्रोत्साहनका कार्यक्रम गरिरहेका छौँ ।”

गाउँपालिकाले उत्कृष्ट दुई विद्यालयलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । उत्कृष्ट बन्ने सानोदुम्मा माविलाई नगद रु तीन लाख र मानेडाँडा माविलाई नगद रु दुई लाखले सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यशक्ष ज्योत्सना राईले बताउनुभयो । खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम भइरहेको उहाँको भनाइ छ ।

गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्यदललाई पनि सम्मान गरेको छ । कार्यदलकी संयोजक सुनिता कटुवाल, सदस्य मचिन्द्रकुमार राई, टलक कार्की, प्रकार राई, सन्तोष राई, नारायणबहादुर खड्का र रमेश कटुवाललाई प्रशंसापत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । रासस