• ६ पुस २०८१, शनिबार

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुन्छ : उपाध्यक्ष महरा

blog

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा ।

काठमाडौं, वैशाख २३ गते । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । पूर्वसभामुख समेत रहनु भएका महराले सरकार भित्र वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताउनुभएको हो ।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष महराले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताउनुभयो ।

उपाध्यक्ष महराले भन्नुभयो, ‘‘जो दोषी छन् । तिनी कारबाहीको दायरा भित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गर्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उहाँको तर्क थियो ।

उहाँले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताउनुभयो । उपाध्यक्ष महराले भन्नुभयो, ‘‘पहिलो कुरा, सरकारको बारेमा के हुन्छ भन्ने कुरा आएको छ आजभोलि । जस्तो यो मोर्चामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो । अब सरकारमा सहभागी हुने वा नहुने विषयमा आजको मितिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त ? भन्ने जिज्ञासा हुन सक्दछ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ । बहुमतको अभाव छैन । त्यसकारणले सरकार टिक्छ । सरकार यथावत् रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ । त्यसकारण यसमा मैले कुनै दुबिधामा नरहन पनि पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु ।’’

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताउनु भयो । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उहाँले बताउनुभयो ।