पोखराको रामघाटमा सोमबार बिहान जीवन, मानव सभ्यताका आरोहअवरोह र समकालीन परिवेश बुझाउने कला प्रदर्शन गरिएको छ । बगरमै भेटिएका ढुङ्गा, काठ, बिरुवामा केही वस्तु थपेर १६ कलाकारले ती कला बनाएका थिए । शनिबारबाट सुरु भएको वातावरणीय प्रतिस्थापन कला कार्यशालामा सहभागी कलाकारले बनाएका कलाकृति दर्शकले चाख मानेर अवलोकन गरे ।
ऐतिहासिक पनौती नगरमा एक हजार ४२० वर्षदेखि मनाइँदै आएको हिलेजात्रामा स्थानीयवासी सामेल हुनैपर्ने परम्परा छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि पनौतीमा खेतको काम थाल्ने गरिन्छ । स्थानीय बुढापाकाको भनाइमा हिलेजात्रामा सामेल हुनैपर्ने मान्यता यहाँ छ । ‘ज्येष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने जनविश्वास छ । त्रयोदशीको तीन दिनअघि पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वरी र ब्रह्मायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रूपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामसाथ जात्रा मनाइन्छ ।
हिमाली जिल्ला हुम्लाका किसानलाई जौ थन्क्याउने चटारो सुरु भएको छ । कात्तिक महिनामा छरेको जौ पाकेपछि यतिबेला किसान बिहानैदेखि बेलुकासम्म जौ टिप्न व्यस्त रहेका हुन् । सिमकोट गाउँपालिका–६ की किसान सङ्गीता रावतले पाकेको जौ टिप्न किसानलाई चटारो सुरु भएको बताउनुभयो । उहाँले आठ महिनापछि पाकेको जौ यस वर्ष त्यति राम्रो नभए पनि किसान बिहानैबाट जौ टिप्न व्यस्त हुन थालेको बताउनुभयो । तीन रोपनी जग्गामा जौ छरेकी उहाँले गत वर्षभन्दा उत्पादन कम हुने अनुमान गर्नुभएको छ ।
चितवनको राप्ती नगरपालिका २ गड्यौलीमा मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक । यहाँको आधुनिक तरकारी तथा फलफूल कृषि उत्पादक सहकारी संस्थालाई प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनले ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराएको हो ।
सडक माथिबाट पहिरो आएपछि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राती साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरोले सडक अवरुद्ध भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।
पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आगामी साता कोशी, मधेश, बागमती प्रदेशमा मनसुनी हावाको प्रभाव रहने देखिएको हुँदा चैते धानबाली काटेर खेतमा नछाड्न किसानलाई जानकारी गराएको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धानले बुलिटन प्रकाशित गरी सो कुराको जानकारी गराएको हो । किसानहरू यतिखेर चैते धान घर भित्र्याउने चटारोमा रहेको र मनसुन पनि सक्रिय हुन लागेको अवस्थामा किसानलाई समयमा सचेत गराउनका लागि यो जानकारी गराएको केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले बताउनुभयो ।
विश्व बैङ्कले नेपालका लागि डेभिड सिस्लेनलाई राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक सिस्लेन यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरूका लागि विश्व बैङ्कका तर्फबाट सहरी व्यवस्थापन र विपत् जोखिम न्यूनीकरण व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । अब भने सिस्लेनले काठमाडौँस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुने छ ।
नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोहल निवासी विष्णु श्रेष्ठ मौरीपालन व्यवसायी हुनुहुन्छ । कम मेहनतमा राम्रो आम्दानी लिन सकिने मौरीपालन व्यवसायसँग जोडिएका श्रेष्ठले मौरीपालनलाई मह उत्पादनसँग जोडेर व्यवसाय गर्दै आउनुभएको छ । २०५१ सालमा ४२ घार मौरी ल्याएर व्यावसायिक उत्पादनमा लाग्नुभएका उहाँले अहिले राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले १५० घार मौरी छन् भने मह प्रशोधन उद्योगसमेत स्थापना गरेर मह खरिदबिक्रीको समेत कारोबार गर्दै आउनुभएको छ । साथै उहाँले मौरीपालक किसानलाई चाहिने मौरीका घार, मदानी, आधार चाकासमेत बनाउँदै बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार दाङ जिल्लामा चिउरी, रुदेलो, तोरी र गोरक्ष बुटीको मह उत्पादन हुने भएकाले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यसरी उत्पादन गरिएको मह घोराही र काठमाडौँबाट बिक्री गरेको श्रेष्ठले
सहकारी संस्था एकपछि अर्को समस्याको दलदलमा फस्दै गएका बेला सङ्घीय सहकारी विभागले बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ क्रियाशीलता बढाएको छ ।विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थालाई आग्रह गरेको छ । कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील रहन सहकारीलाई आग्रह गरेको हो ।
अतिरिक्त कामको प्रोत्साहन भत्तालगायतका ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा रहेका सङ्घीय संसद्का कर्मचारीको माग पूरा गर्न राजनीतिक पहल सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमुख दलका प्रमुख सचेतकलगायतसँग सोमबार छलफल गर्नुभयो । बजेटसँग सम्बन्धित विषय भएकाले मङ्गलबार अर्थमन्त्री वर्षमान पुनसँग समेत थप छलफल गर्ने निष्कर्ष बैठकले निकालेको छ । सभामुख घिमिरे र अध्यक्ष दाहालले सोमबार दलका प्रतिनिधिसँग समस्या समाधानबारे परामर्श गर्नुभएको हो । कर्मचारी युनियनका प्रतिनिधिले भने माग पूरा नभए पूर्वनिर्धारित कार्यक्रम अनुसारको आन्दोलन जारी रहने छलफलमा बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको उत्तरी विन्दु (रनवे टु जिरो) बौद्धतर्फबाट जहाज अवतरणमा लगाइएको रोक हटाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तारको काम सकिएपछि उत्तरी विन्दुतर्फबाट आन्तरिकतर्फका जहाजलाई अवतरणमा लगाइएको रोक हटाइएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा तीन महिनाका लागि सूचना जारी गरेर विस्तारको काम ७७ दिनमा सम्पन्न भएपछि सोमबारदेखि धावनमार्ग पुरानै अवस्थामा सञ्चालनमा आएको जानकारी दिनुभयो । धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तार गर्न गत चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई काठमाडौँ–६, बौद्ध तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो ।