• १२ असार २०८१, बुधबार

किसानलाई जौ थन्क्याउने चटारो

blog

हुम्ला समाचारदाता

हुम्ला, असार ४ गते । हिमाली जिल्ला हुम्लाका किसानलाई जौ थन्क्याउने चटारो सुरु भएको छ । कात्तिक महिनामा छरेको जौ पाकेपछि यतिबेला किसान बिहानैदेखि बेलुकासम्म जौ टिप्न व्यस्त रहेका हुन् । 

सिमकोट गाउँपालिका–६ की किसान सङ्गीता रावतले पाकेको जौ टिप्न किसानलाई चटारो सुरु भएको बताउनुभयो । उहाँले आठ महिनापछि पाकेको जौ यस वर्ष त्यति राम्रो नभए पनि किसान बिहानैबाट जौ टिप्न व्यस्त हुन थालेको बताउनुभयो । तीन रोपनी जग्गामा जौ छरेकी उहाँले गत वर्षभन्दा उत्पादन कम हुने अनुमान गर्नुभएको छ । 

सिमकोट गाउँपालिका वडा नं. ५ र ६ मा सिँचाइको सुविधा नभएका कारण सबै किसानको अवस्था उस्तै रहेको छ । उहाँले जौ राम्रो नभएका कारण कतिपय किसानले छरेको बिउ पनि उत्पादन गर्न कठिन हुने देखिएको बताउनुभयो । 

त्यसै गरी सिमकोट गाउँपालिका–२, लछु बोहराले पनि यतिबेला ठेहे गाउँका किसान जौ र उवा टिप्ने काममा व्यस्त रहेको बताउनुभयो । उहाँले सिँचाइ सुविधा पुगेको जग्गामा जौ र उवा बाली राम्रो सप्रेको भए पनि आकाशे पानीको भरमा खेती गरिने जग्गामा भने राम्रो नसप्रेको बताउनुभयो । 

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले स्वाभाविक रूपमा यतिबेला राम्रो नभए पनि किसान जौ बाली थन्क्याउने कार्यमा लागेको बताउनुभयो । 

सिमकोट गाउँपालिका जौका लागि राम्रो सम्भावना भएको भए पनि यस वर्ष हिउँदमा हिउँ कम परेको र बर्खा लागे पनि पानी नपरेका कारण जौ र गहुँ बाली राम्रो नभएको बताउनुभयो ।