• १३ साउन २०८१, आइतबार

विश्व बैङ्कको नेपाल निर्देशकमा सिस्लेन

blog

काठमाडौँ, असार ४ गते । विश्व बैङ्कले नेपालका लागि डेभिड सिस्लेनलाई राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक सिस्लेन यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरूका लागि विश्व बैङ्कका तर्फबाट सहरी व्यवस्थापन र विपत् जोखिम न्यूनीकरण व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । 

अब भने सिस्लेनले काठमाडौँस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुने छ । 

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गर्नुभएका सिस्लेनसँग विश्व बैङ्कमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । 

निवर्तमान नेपाल निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैङ्कले डेभिडलाई नयाँ निर्देशकका रूपमा नेपाल पठाएको हो । 

यसैबिच अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरूको स्वागत र बिदाइ गर्नुभएको हो । 

कार्यव्रmममा मन्त्री पुनले निवर्तमान निर्देशक फारिसको कार्यकालमा सुरु भएका प्रयासहरूको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो । फारिसको कार्यकालमा नेपाल र विश्व बैङ्कबिचको सम्बन्ध थप उचाइमा पुगेको पनि उहाँले बताउनुभयो । फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिका रूपमा मात्र नभई नेपालको हितैसी मित्रका रूपमा भूमिका खेलेको मन्त्री पुनको भनाइ थियो । 

अमेरिकी नागरिक फारिस २०७३ असारमा बैङ्कको नेपाल निर्देशकका रूपमा आउनुभएको थियो । त्यसअघि फारिस नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो । 

नेपालमा मङ्गलबारबाट सुरु हुने विश्व बैङ्कको आइडिए–२१ बैठकको पूर्वसन्ध्यामा नेपाल आउनुभएका डेभिडको कार्यकालमा नेपाल र विश्व बैङ्कबिचको सहकार्य आगामी दिनमा थप सुदृढ हुने अर्थमन्त्री पुनले बताउनुभयो । 

विश्व बैङ्कले राष्ट्रिय निर्देशकसँगै नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ । हाल राष्ट्रिय प्रबन्धक रहनुभएका लाडा स्ट्रेलकोवाको कार्यकाल सकिएकाले उहाँको स्थानमा प्रिती अरोरा प्रबन्धकका रूपमा नेपाल आउनुभएको छ । 

विश्व बैङ्कले २३ वटा परियोजनामा लगानीमा गरेको छ त्यसमध्ये तीन वटा पाइप लाइनमा रहेको बताइएको छ । विश्व बैङ्क नेपालको सबैभन्दा ठुलो ऋण प्रदायक विकास साझेदार पनि हो ।