• १२ असार २०८१, बुधबार

रामघाटमा जीवनको झलक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार ४ गते । पोखराको रामघाटमा सोमबार बिहान जीवन, मानव सभ्यताका आरोहअवरोह र समकालीन परिवेश बुझाउने कला प्रदर्शन गरिएको छ । बगरमै भेटिएका ढुङ्गा, काठ, बिरुवामा केही वस्तु थपेर १६ कलाकारले ती कला बनाएका थिए । शनिबारबाट सुरु भएको वातावरणीय प्रतिस्थापन कला कार्यशालामा सहभागी कलाकारले बनाएका कलाकृति दर्शकले चाख मानेर अवलोकन गरे ।  

मानव सभ्यताको विकास नदी किनारबाटै भएको इतिहास छ । सेती किनारमा कलाकार शरद भण्डारीले आफ्नो कलामा गुफा, सिकारका सामग्री, त्यो बेला प्रयोग हुने हतियार र जीवन बुझाउने कला तयार गर्नुभएको छ । रामघाट पोखरा क्षेत्रको अन्तिम संस्कार गर्ने प्रमुख स्थल हो । त्यही परिवेशलाई मनन गर्दै धेरै कलाकारले जीवनदेखि मृत्युसम्मका परिस्थिति र सभ्यतालाई कलामा उतारेका थिए । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले आफूले बनाएको प्रतिस्थापन कलामा प्रयोग गरिएका ढुङ्गा बोकेरै फर्किनुभएको छ । उहाँले भन्नुभयो, “बगरका ढुङ्गामा रेखाहरू थिए । सानाठुला ती ढुङ्गाका रेखालाई जीवनको रेखाका रूपमा कला बनाएकी थिएँ । मेरा लागि ती ढुङ्गा अमूल्य बने, बोकेर सडकसम्म ल्याएँ अनि लिएरै राजधानी जाँदै छु ।” चित्र र मूर्तिकला बिक्री हुन्छन् तर प्रतिस्थापन कलाबाट आर्जन गर्न सकिने अवस्था छैन । राम्रो अवधारणासहितका कलालाई विमानस्थल, होटेल, चौर जस्ता ठाउँमा राख्न सकिन्छ । वातावरणीय प्रतिस्थापन कला नेपालमा सन् १९९४ तिर सुरु भएको हो ।