हरिकृष्ण शर्मा
म्याग्दी, असार २२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भारी वर्षा हुन थालेपछि माटोको घरको तथ्याङ्क सङ्कलन सुरू गरेको छ । जलवायु परिवर्तनका कारण वर्षाका कारण माटो र ढुङ्गाले बनेको घरहरूको छाना चुहिने, जिर्ण घरहरू भत्किन थालेपछि बस्तीमा पुगेर जोखिमपूर्ण घरको पहिचान गर्न थालिएको हो ।
गाउँपालिका भित्र कुल ७५० घरधुरीमा करिब ८० प्रतिशत माटोको घर रहेको गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले बताउनुभयो । ‘‘यहाँ आरसिसी गरेको घरको सङ्ख्या कम छ, पूराना घरहरूको अवस्था बारेमा प्राविधिकसहितको टोली खटाउँछौ’’ उहाँले भन्नुभयो ।
अध्यक्ष गुरुङले कागबेनी, रानीपौवा, मुक्तिनाथ आसपासका क्षेत्रमा होटल तथा व्यावसायिक घरहरू पक्की भए पनि बजार र ग्रामीण क्षेत्रमा अधिकांश घरहरू ढुङ्गा माटाले बनाइने परम्परागत शैलीका छन् । वैदेशिक रोजगारी तथा जिल्ला बाहिर रहेका गाउँपालिका बासिन्दाको प्रयोगविहीन अवस्थामा रहेका घरको समेत सोही अभियानको क्रममा तथ्याङ्क सङ्कलन गरिने छ ।
गाउँपालिकाले पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरेपछि मर्मत गरी प्रयोग गर्न मिल्नेलाई राहत तथा पूर्णरूपमा भत्काउनु पर्ने अवस्थाका विपन्नको आधारमा प्रदेश तथा सङ्घीय बजेट समेत माग गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।
गत असार ८ गते सम्पन्न भएको २२ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२–८३ मा घरको नक्सापास निःशुल्क बनाउन जनप्रतिनिधिले सहमति दिएका छन् । मुस्ताङको पाँचै वटा गाउँपालिकामा माटोले बनेका घरहरू भत्किने, बाढीले बगाउने समस्या रहेको स्थानीय जनप्रतिनिधिले बताउनुभएको छ ।
गत वर्ष थासाङ गाउँपालिका–२ कोवाङ नाउरिकोटमा वर्षाकै कारण माटोले बनेको घर भत्किदा एक जनाको ज्यान गएको थियो । घरपझोङ गाउँपालिका–२ मार्फा, वडा २ ढुम्बामा अविरल वर्षाका कारण माटोले बनेको घर भत्किएको थियो । स्थानीय तहले भत्किएका घरहरु बनाउन जस्तापाता सहयोग गर्ने गरेका छन् ।
मुस्ताङमा सर्वसाधारणको मात्र नभई सरकारी निकायका भवनहरू समेत माटोले बनेका छन् । पछिल्लो समय सहर बजारमा कङ्क्रिट घरहरू थपिने क्रममा छन् ।