जताततै आगलागी भइरहेका बेला सर्लाहीमा रहेका दुईवटा दमकल पालैपालोजसो बिग्रिएर हैरान पार्न थालेका छन्। सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल तीन महिनापछि मर्मत गरेर ल्याएको एक साता भएको छ भने हरिवन नगरपालिकाको दमकल बिग्रिएर थन्किएको छ। हरिवन नपाले बिग्रिएको दमकल मर्मतका लागि आइतबार बिहान वीरगञ्ज पठाइएको नगरपालिका कार्यालयले जनाएको छ।
निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक लगाएपछि बर्दिबास–३, पाटु गाउँ तनावमा छ। आइतबार बिहान विद्यार्थी लिन निजी स्कुलका बसलाई गाउँ प्रवेशमा अवरोध गरेपछि गाउँलेबीच विवाद भएको थियो। गाउँलेले अवरोध गरेपछि निजी स्कुलले तीनवटा बसलाई बीच सडकमा तेर्साएर बीपी राजमार्ग करिब ४५ मिनेट अवरुद्ध पारे। घटनास्थल पुगेको प्रहरीले सम्झाई बाटो खुलाएको थियो। प्रहरीले तत्काल आवागमन खुलाए पनि विवाद यथावत् रहेकाले कुनै पनि बेला राजमार्ग पुनः अवरुद्ध हुने सम्भावना नटरेको स्थानीयवासीको भनाइ छ।
महादेवा गाउँपालिका–१ स्थित एक सार्वजनिक बाटो बाँसको टाटी लगाएर बन्द गरिएको छ। स्थानीय श्रवण मण्डलले सो सार्वजनिक बाटो अवरुद्ध गरेका हुन्। छिमेकी रामकुमार यादवसँग जग्गासम्बन्धी विवाद उत्पन्न भएपछि मण्डलले हिँड्न समस्या हुने गरी घरको टाटी लगाएर बाटो छेकेको स्थानीयवासीले बताएका छन्। बाटो छेकेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ। बाटो ठप्प हुँदा दैनिक उपभोग्य वस्तुसमेत ओसारपसारमा कठिनाइ हुनुका साथै घर पुग्न पनि समस्या रहेको स्थानीय अशोक यादवले बताउनुभयो।
शिवसताक्षी नगरपालिका–२ स्थित मङ्गलबारे–पाराबारी सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–२ कार्यालय र स्थानीय उपभोक्ताको संयुक्त साझेदारीमा सडक कालोपत्रे गरिएको हो। शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार रुपियाँ, वडा नं. २ को कार्यालयबाट विनियोजित बजेट १८ लाख रुपियाँ र स्थानीय उपभोक्ताबाट सङ्कलित १९ लाख ९८ हजार ७०५ रुपियाँ गरी ९९ लाख ९८ हजार ७०५ रुपियाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। सडक ९४५ मिटर कालोपत्रे भएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्र दिवसले देशलाई समृद्धिको पथमा लैजान सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टावर र जहाजको कटपिटबीचको सञ्चारमा समस्या दोहरिएपछि आइतबार पुनः उडान प्रभावित भएको छ । यसअघि गत मङ्गलबार पनि सञ्चारमा समस्या देखिँदा एक घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । टावरमा रहेको रेडियो प्रणालीमार्फत एप्रोच कन्ट्रोल र एरिया पावर सप्लाई डाउन हुँदा आइतबार दिउँसो १२ बजेदेखि एक घण्टा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीचको संवादमा समस्या आएको हो । विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले टावर र पाइलटबीचको सञ्चारमा सानो आवाज आउने समस्या देखिँदा उडानमा समस्या भएको बताउनुभयो ।
उपत्यकाका तीनवटै जिल्लामा नेपालभाषाको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको सिकागोमा रहनुभएका साहित्यकार केशरमान ताम्राकारले सामाजिक सञ्जालमार्फत आयोजना गरेको कार्यक्रम वरिष्ठ साहित्यकार मथुरा सायमीको कथासङ्ग्रह ‘चिप–निप’ वरिष्ठ साहित्यकार राजा शाक्यले काठमाडाैँमा विमोचन गर्नुभयो । त्यस्तै सुरज व्यञ्जनकारको मुक्तक सङ्ग्रह ‘सब्बुचा–२’, वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले ललितपुरमा विमोचन गर्नुभयो । त्यसैगरी विराट् नेपालभाषा साहित्य सम्मेलन गुथी भक्तपुरले पनि साहित्यिक सम्मेलनको आयोजना गरेको छ ।
ललितपुरको लुभुमा आइतबारदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । भगवती लाछी टोल, पिङ्ग टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोलमा घुमाइन्छ ।
जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को)मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक पठाउने प्रक्रिया प्रभावकारी हुुन सकेको छैन । वैदेशिक रोजगार विभागले जिट्कोमार्फत नेपाली श्रमिक पठाउनका लागि प्रत्येक वर्ष दर्ता र नवीकरणका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दै आएको छ तर पछिल्लो पाँच वर्षमा जिट्कोमार्फत ९५९ जना मात्रै नेपाली प्रशिक्षार्थी श्रमिक पुग्नुले सफल हुन नसकेको स्पष्ट हुन्छ ।
दाङको राष्ट्रिय तथा निजीबाट बितेको नौ महिनाको अवधिमा करिब दुई लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्म राष्ट्रिय र निजी वन क्षेत्रबाट दुई लाख २४ हजार ३६ किलो बराबरको विभिन्न प्रजातिका जडीबुटी निकासी भएको हो ।
बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकाभन्दा नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या दोब्बर छ। कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० को बसोबास रहेको छ।
तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ ।
१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो ।