• १४ पुस २०८१, आइतबार

अवधी भाषाको संविधान मन्त्रालयलाई हस्तान्तरण

blog

अवधी भाषाको संविधान मन्त्रालयलाई हस्तान्तरण गरिदै ।

सिराज खान 

नेपालगन्ज, पुस १३ गते । स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको हो । 

अवधी भाषामा प्रकाशित संविधानको प्रतिलाई काठमाडौंमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानुनकर्मी सन्तोष रेग्मीले प्रदान गर्नुभयो । सल्लाहकार रेग्मीले संविधान प्रकाशनबारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गर्नुभयो । 

त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधीभाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधी भाषीलाई संविधान पढन आग्रह गर्नुभएको सल्लाहकार रेग्मीले बताउनुभयो । उहाँका अनुसार सरकारले गर्ने कामलाई सहयोग गरेको भन्दै कानुनलाई स्थानीयकरण गरेकोमा सचिव सापकोटाले खुशी व्यक्त गर्नुभयो । 

यसैविच प्रकाशित अवधी संविधानलाई भाषा आयोगमा पनि पठाइएको सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा सँविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन दिएको थियो । अनुसन्धान केन्द्रले अवधी संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ । आगामी दिनमा अन्य कानुनलाई पनि अनुवाद गरी प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।