• १४ पुस २०८१, आइतबार

जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्यः राजदूत रोब

blog

बेलायती राजदूत रोब फेनले र उहाँका श्रीमती जुलिया फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जानकी मन्दिरमा मनाउनुहुँदै । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, पुस १३ गते । बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाउनुभएको छ । 

राजदुत फेन्लेका पत्नी जुलिया फेनलेसँग आफ्नो जिवनको विशेष दिन २२ औं वैवाहिक वर्षगाँठ शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिला परम्पराअनुसार मनाउनुभएको हो ।

गत वर्ष जनकपुरधाम भ्रमणका क्रममा यहाँको कला, संस्कृति र ऐतिहासिक महत्वबाट प्रभावित हुनुभएका राजदूत फेनलेले आफ्नो वर्षगाँठलाई यस क्षेत्रको सांस्कृतिसँग जोड्ने निर्णय गर्नुहुँदै वर्षगाँठ मनाउनुभएको छ । राम–सीताको प्रेमकथालाई सम्झँदै उहाँले जानकी मन्दिरको वातावरणले वैवाहिक सम्बन्धको नवीन अनुभूति दिएको बताउनुभयो ।

राजदूत फेनलेले भन्नुभयो, “जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्य हो, सबैले जनकपुरधाम भ्रमण गर्नुपर्छ ।” उहाँको भनाइले जनकपुरधामको पर्यटन र सांस्कृतिक प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । 

जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास वैष्णवले राजदूत दम्पतीलाई मिथिलाशैली अनुसारको परम्परागत विवाहविधिमा सम्पन्न गराउनुभयो । उहाँले यो अवसरलाई प्रेम र परम्पराको प्रतीक भन्दै जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न सरकारलाई अपिल गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत प्रमुख व्यक्तित्वको उपस्थिति थियो ।