• ११ मंसिर २०८१, मङ्गलबार

महाभैरव जात्रा सुरु

blog

ललितपुर, वैशाख ११ गते । ललितपुरको लुभुमा आइतबारदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । भगवती लाछी टोल, पिङ्ग टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोलमा घुमाइन्छ ।

रातो मच्छिद्रनाथको रथ जात्रासँगै लुभुको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने गर्दछ । रातो मच्छिन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पाङ्ग्रालाई लुभुको भैरवका रूपमा पुजिने गरिन्छ । त्यसैले रातो मच्छिन्द्रनाथको जस्तै लुभुमा खटयात्रा गरी जात्रा मनाउने परम्परा रहेको छ । रातो मच्छिन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ । सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइन्छ ।

आकाश भैरवलाई कोतपूजापछि सेलाउन लाने भन्दै नगरबाहिर लगेर फाल्न लाने पनि परम्परा छ । स्थानीय समुदायमा महालक्ष्मी र महाभैरव सिन्दूरे जात्राका रूपमा समेत परिचित रहेको स्थानीय किरण श्रेष्ठ बताउनुहुन्छ । 

ललितपुर लामाटार, टीकाथली, चाँगाथली, लुभुवासीले यो जात्रा  धूमधामका साथ मनाउने गर्छन् । अष्टमीका दिन जात्रा मनाउनेले लुभुमा विराजमान गराइएको महालक्ष्मी र गणेशको भव्य पूजा गर्दछन् । यसलाई स्थानीयले ‘सरकार पूजा’ पनि भन्ने चलन छ । यस दिन गणेशलाई बोका बलि दिने प्रचलन पनि छ । जात्रा सम्पन्न नभएसम्म यस क्षेत्रका जात्रा मान्ने बासिन्दाले खेतबारी तथा निर्माण कार्य गर्न नहुने परम्परा रहेको श्रेष्ठले जानकारी दिनुभयो । तत्कालीन राजा सिद्धिनरसिंह मल्लका पालादेखि लुभुमा यो जात्रा प्रारम्भ भएको मान्यता रहेको भाषा तथा संस्कृतिविद् बुद्धिरत्न श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “स्थानीय भाषामा ‘लुँ’ भनेको सुन र ‘भु’ भनेको थाल हो । भक्तपुरका राजा शिवसिंह मल्लको मृत्युपछि उहाँका महारानी गङ्गाले सुनको थाल बेचेर हालको बस्ती बसाएकाले लुभु अर्थात् सुनको थाल भन्न थालिएको किंवदन्ती छ ।” जात्राको पहिलो दिन भगवती लाछी, दोस्रो दिन देवीस्थान, तेस्रो दिन गोभ्रटारेश्वर महादेव प्राङ्गण, चौथो दिन नासल तगटु, पाँचौँ दिन सरकारी पूजाआजाका लागि कोयलाछी, छैटौँ दिन इँटाटोल नारायण देवल मन्दिर, सातौँ दिन महालक्ष्मी मन्दिर अगाडि र आठौँ दिन भगवती मन्दिरअगाडि पूजा गरी भोलिपल्ट बाजागाजासहित देवीदेवतालाई भिœयाउने परम्परा रहेको छ ।

मल्ल राजाले सन्तान रक्षाका हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा चलाएको भनाइ छ । लुभु र लामाटारको सिमानामा पर्ने ठूलो चौरमा रहेको मन्दिरलाई महालक्ष्मी र भैरवकी आमाका रूपमा पुजिन्छ । यो उपत्यकाकै सबैभन्दा पुरानो शक्तिपीठका रूपमा रहेको छ । परापूर्वकालमा १२ वर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथ लिन गएको टोलीमा चार भैरवसमेत रहेको किंवदन्ती छ । तीमध्ये लुभुका हयग्रिव भैरव एक रहेको जनश्रुति छ । मच्छिन्द्रनाथको जात्रा गर्ने बेला लुभुको भैरवको पनि जात्रा चलाउने गरिएकाले त्यसबेलादेखि जात्रासँगै पर्ने गरेको विश्वास छ । रातो मच्छिन्द्रनाथको रथ जात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अगाडिको दायाँ पाङ्ग्राको भैरव, लुभुको हयग्रिव भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख छ ।