• २६ जेठ २०८२, सोमबार

हेटौँडामा तीव्रगतिको चार्जिङ स्टेशन

वातावरण संरक्षण गर्न विद्युतीय सवारी प्रयोग आवश्यक छ : मुख्यमन्त्री लामा

blog

चार्जिङ स्टेसनको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ।

राममणि दाहाल

मकवानपुर, जेठ २५ गते। ट्रान्सर्फमर उत्पादन गर्दै आएको हेटौँडा उपमहानगरपालिका ११ थाना भ¥याङस्थित नेपाल इकरत इन्जिनियरिङ कम्पनी प्रालि (निक)ले विद्युतीय सवारी साधन तीव्र गतिको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले हेटौँडामा विद्युतीय सवारी साधन चार्ज गर्ने तीव्र गतिको चार्जिङ स्टेसन आइतबार उद्घाटन गर्दै पहिलो पटक नयाँ प्रविधिसहित सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभरी विस्तार र प्रसार गर्नुपर्ने बताउनुभयो। 

उहाँले वातावरणीय चुनौती बढिरहेको समयमा वातावरण संरक्षणको लागि विद्युतीय सवारीका साधनको प्रयोग र इलेक्ट्रोनिक चार्जिङ स्टेशन आवश्यक रहेको भन्दै सेवा विस्तारमा लाग्न सुझाउनुभएको थियो। 

उहाँले विद्युतीय सवारी र चार्जिङ स्टेशनका कारण नेपाली रुपियाँ बचतसँगै अर्थतन्त्रमा सहयोग पुग्ने भन्दै नयाँ प्रविधिको नेपालमा ल्याएको हुवाबे कम्पनीलाई प्रविधिसम्बन्धी ज्ञानलाई नेपाली बजारमा ल्याउँदै सहकार्यको वातावरण बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, नयाँ प्रविध आएसँगै रोजगारीको अवसर प्रदान गर्न मद्दत पुग्ने छ।

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडाको पहिचानको रुपमा रहेको हरित हेटौँडालाई थप सुन्दर बनाउन चार्जिङ स्टेशनले सहयोग पुग्ने बताउनुभयो। 

धुँवा धुलोबाट सुरक्षित रहँदै प्रदेश राजधानीको वातावरणलाई सफा राख्न सकिने भन्दै सरकार र निजी क्षेत्रले नेपाली श्रोतलाई परिचालन गर्दै उत्पादन भएको विद्युतलाई यही प्रयोग गर्दा वातावरणमैत्री अवस्था सिर्जना हुने बताउनुभयो।

चाइनाको हुवाबे कम्पनीसँगको सहकार्यमा निकले चार सय किलोवाट क्षमताको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। न्यूनतम इन्धन सवारीलाई पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने यस स्टेशनबाट ५ देखि १५ मिनेट भित्र सवारी साधनमा पूर्ण रुपमा चार्ज हुने चार्जिङ स्टेशनका प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँले करिब ११ महिनाको प्रयास पछि सञ्चालनमा ल्याइएको स्टेशनमा पाँच वटा प्वाईट मार्फत सवारी चार्ज गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो।

स्टेशनमा विद्युत् आपूर्ति बन्द हुन नदिन २४०/२२० केभीएको सोलारको पनि व्यवस्थापन गरेको जनाइएको छ। निकले हरीत हेटौंडा मैत्री उत्पादन प्रकृयामा ध्यान दिँदै कामलाई अघि बढाएको जनाएको छ।