काठमाडौँ, जेठ २४ गते । नेपालमा हरेक वर्ष करिब २५ सय देखि २६ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको छ ।
वीर अस्पतालले विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा सार्वजनिक राष्ट्रिय स्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रबाट मस्तिष्क ट्युमर भएका एक हजार ७३९ जना बिरामीको तथ्याङ्क सङ्कलन गरेर अध्ययन गरेको थियो ।
अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख तथा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्राडा. राजीव झाले प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब दुई हजार पाँच सयदेखि दुई हजार छ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको जानकारी दिनुभयो ।
झाले उक्त अध्ययनले सबै भन्दा बढी ग्लायोमा ट्युमर देखिएको जानकारी दिनुभयो । अधिकांश बिरामीलाई शल्यक्रिया, विकिरण किमोथेरापी जस्ता उपचार सेवा आवश्यक परेको डा. झा बताउनुहुन्छ । प्रा.डा. झाले मस्तिष्क ट्युमरका बिरामीको उपचार परिणाम क्रमश सुधारोन्मुख रहेको जानकारी दिनुभयो । यो तथ्याङ्कले मस्तिष्क ट्युमरसम्बन्धी नयाँ अनुसन्धान जनचेतना तथा नीतिनिर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास छ ।