• २६ जेठ २०८२, सोमबार

स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउँदै नेपाल

blog

तस्बिर : क्यान

काठमाडौँ, जेठ २५  गते। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ। नेपालले भर्खरै चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनायो। 

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेल्नुभयो । बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रन बनाउनुभएको हो। माइकल लीस्कले  स्कटल्यान्डका लागि नटआउट ६२ बलमा ९६ रन बनाउनुभयो ।

चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोड्दा  मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाउनुभयो। 

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट हात पार्नुभयो। 

नेपालले यस सिरिजको पहिलो खेलमा स्कटल्यान्डमाथि एक विकेटको रामोञ्चक जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

हाल सिरिजमा १४ खेल खेलको नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । १८ खेलबाट २२ अङ्क बनाएको स्कटल्यान्डको चौथो स्थानमा छ ।

शीर्षस्थानमा रहेको अमेरिको २८, दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २६ र तेस्रो स्थानमा रहेको ओमानको २४ अङ्क छ । 

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।

नेपालले यस सिरिजको अन्तिम खेल मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।