काठमाडौँ, वैशाख ११ गते । राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकाभन्दा नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या दोब्बर छ। कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० को बसोबास रहेको छ।
दस वर्षको अवधिमा सहरी क्षेत्रमा दोब्बरले जनसङ्ख्या वृद्धि भएको हो। २०६८ सालमा ५८ वटा नगरपालिका र तीन हजार ९१३ वटा गाउँ विकास समिति (गाविस) रहेको थियो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्या विवरणअनुसार कुल जनसङ्ख्याको ६६.२ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गर्छन् भने ३३.८ प्रतिशत जनसङ्ख्या गाउँपालिकामा बस्छन्। अहिले ४६० गाउँपालिका र महानगर, उपमहानगर र नगरपालिकासहित २९३ वटा नगरपालिका गरी ७५३ स्थानीय तह छन्।
२०६८ सालको जनगणनामा भने सहरी क्षेत्रमा १७.१ र गाउँमा ८२.९ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने गरेका थिए। त्यस्तै सङ्घीय संरचनापछि समायोजित हुँदा त्यस्तो प्रतिशत नगरपालिकामा ६३.१९ र गाउँपालिकामा ३६.८१ रहेको थियो।
अहिले पनि नगरपालिकालाई सहरी क्षेत्र र गाउँपालिकालाई ग्रामीण क्षेत्रको रूपमा हेरिँदै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो।
त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन विभाग भक्तपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक लक्ष्मी बस्यालले गाउँपालिकाभन्दा नगरपालिकामा अवसर धेरै हुने भएकाले नगरपालिकामा जनसङ्ख्याको चाप बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “सरकारले गाउँपालिका र नगरपालिकामा समान अवसरको सिर्जना गर्दै जाने हो भने क्रमिक रूपमा गाउँपालिका र नगरपालिकामा जनसङ्ख्याको वितरण पनि समान हुँदै जान्छ।” नगरपालिकामा जनसङ्ख्या धेरै चाप हुँदा सवारीसाधनको चाप बढेको, फोहोर व्यवस्थापनमा चुनौती थपिएको, हरेक क्षेत्रमा बहुआयामिक प्रतिस्पर्धा हुने गरेको तर गाउँपालिकामा कम जनसङ्ख्या हुँदा अवसर पनि कम मात्र हुने गरेको उहाँले बताउनुभयो।
२०७८ सालको जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा नगरपालिकामा १.३६ प्रतिशत र गाउँपालिकामा ०.११ प्रतिशत रहेको छ। नगरपालिकाको प्रतिवर्ग किलोमिटर जनघनत्व ३७३ जना र गाउँपालिकामा १०५ जना रहेको छ। नेपालमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्यहरूमा प्रतिपरिवार ४.३७ रहेकोमा नगरपालिकामा प्रतिपरिवार औसत ४.३१ र गाउँपालिकामा ४.५१ परिवार सदस्य रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ।
गाउँपालिकाभन्दा नगरपालिकामा महिला परिवारमूली धेरै छन्। कुल परिवारमध्ये ६८.५ प्रतिशत परिवारमा पुरुष परिवारमूली र ३१.५ प्रतिशत परिवारमा महिला परिवारमूली रहेकोमा नगरपालिकामा ६७.२ र गाउँपालिकामा ७१.१ प्रतिशत परिवारमूली पुरुष रहेका छन्।