• ११ असार २०८२, बुधबार

धादिङका सबै पालिकाद्वारा बजेट सार्वजनिक

blog

धादिङ जिल्लाका १३ वटै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि आ–आफ्ना नीति, कार्यक्रम तथा बजेट सार्वजनिक। तस्बिर : अस्मिता पोखरेल

अस्मिता पोखरेल 
धादिङबेंसी, असार ११ गते ।
धादिङ जिल्लाका १३ वटै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि आ–आफ्ना नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । अधिकांश पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, पर्यटन, सामाजिक सुरक्षा तथा समावेशी विकासमा प्राथमिकता दिइएको छ ।

नीलकण्ठ नगरपालिकाले एक अर्ब २२ करोड ९३ लाखको बजेट प्रस्तुत गर्दै ‘एक वडा एक नमूना विद्यालय’, हरेक वडामा स्वास्थ्य संस्था, व्यवसायिक कृषि, स्वरोजगार प्रवर्धन, पर्यटनस्थलको विकास, सञ्चार सहकार्य र सूचना प्रविधि नीति कार्यान्वयनलाई प्राथमिकता दिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले ६४ करोड ९० लाखको बजेट पारित गर्दै कृषि, शिक्षा र पूर्वाधारमा विशेष ध्यान दिएको छ । प्रत्येक वडामा कालोपत्रे सडक, प्राङ्गारिक मल र कृषि एम्बुलेन्स सञ्चालन, दिवा खाजा कार्यक्रम लगायतका योजना समेटिएका छन् ।

ज्वालामुखी गाउँपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामुखीको मूल आधार” भन्ने मूल सोचसहित ६४ करोड ८ लाख ९० हजारको बजेट प्रस्तुत गरेको छ । सामाजिक समावेशिता, विपद् व्यवस्थापन, सूचना प्रविधि, सरसफाई र रोजगार प्रवर्धनमा जोड दिइएको छ ।

गङ्गाजमुना गाउँपालिकाले ६२ करोड ११ लाख ६६ हजारको बजेट ल्याएको छ। शिक्षा, स्वास्थ्य, आधुनिक कृषि, स्वच्छता, आन्तरिक रोजगारी, पेय पदार्थमा स्वदेशी उत्पादनको प्रयोग प्रोत्साहनजस्ता कार्यक्रम प्राथमिकतामा छन् ।

सिद्धलेक गाउँपालिकाले ६० करोड ५७ लाख ८४ हजार ९१४ को बजेटमार्फत सडक, कृषि, स्वास्थ्य र शिक्षा प्राथमिक क्षेत्रका रूपमा अघि सारेको छ। काँडे भ्याकुरको संरक्षण, मौरी पालन हब, एक वडा एक पर्यटन क्षेत्र निर्माण योजना समावेश गरिएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकाले ४६ करोड २७ लाख ३२ हजार २९१ रुपैयाँको बजेट पेश गरेको छ । समावेशी विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पारदर्शी प्रशासन, सामाजिक सुरक्षा र सेवा चुस्ततामा विशेष जोड दिइएको छ ।

त्यसैगरी, बेनीघाट रोराङ गाउँपालिकाले ९३ करोड ३० लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै सामाजिक विकास, पूर्वाधार, युवा, शिक्षा, स्वास्थ्य, कृषि, र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।

थाक्रे गाउँपालिकाले ९३ करोड १२ लाख ४५ हजार बजेट सार्वजनिक गर्दै कृषि, रोजगार, स्वास्थ्य सेवा सुधार, गुणस्तरिय शिक्षालाई प्राथमिकता दिएको छ ।

गजुरी गाउँपालिकाले ६७ करोढ २२ लाख ९२ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, ज्येष्ठ नागरीक, खानेपानिलगायतका विकासलाई जोड दिएको छ ।

गल्छी गाउँपालिकाले ७३ करोड ४५ लाख २६ हजार ५ सय २५ रुपियाँको बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

धुनिवेशी नगरपालिकाले ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको बजेट सार्वजनिक गर्दै सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारीलगायतका क्षेत्रलाई जोड दिएको छ ।

रुबीभ्याली गाउँपालिकाले ४५ करोड ४७ लाख ३४ हजार बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासमा, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, उद्योग, खानिजन्य पदार्थको उत्खननको लागि विशेष पहल, स्वास्थ बिमा कार्यक्रम, सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ ।

र खनियाबास गाउँपालिकाले ४४ करोड १५ लाख ८० हजार ५ सय रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

समग्रमा धादिङका पालिकाहरूले आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई मूल आधार मान्दै समावेशी, दिगो र स्थानीय आवश्यकता तथा स्रोतअनुसारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। अधिकांश पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, स्वदेशी उत्पादन प्रोत्साहन, रोजगार सृजना, गुणस्तरीय सेवा प्रवाह र पारदर्शिता सुनिश्चित गर्न नीति लिएका छन् ।