काठमाडौँ, असार ११ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरोध गरिरहेका प्रतिपक्ष दललाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो।
संसदको प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेरो गोरुको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको जिकिर गर्नुभयो। रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको उहाँको भनाइ छ।
समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई अड्काउन नहुने पनि बताउनुभयो। छानबिन समिति स्वीकार गरेर छानबिन समितिले निर्वाध रुपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलले सचेत गराउन खबरदारी गर्नुपर्ने बताउनुभयो।
सरकारले सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिव सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ। जसमा रास्वपा र राप्रपाले असहमति जनाएका छन्।
मन्त्री गुरुङ विरोधको अब धेरै औचित्य नरहेको बताउनुभयो। संसदीय काम कारबाहीमा सामेल भएर संसद् अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो।