काठमाडौँ, असार ११ गते । सधैँ जसो खेतबारीमा माटो खेलाउने किसान मङ्गलबार भने सुटबुटमा चिटिक्क परेर राष्ट्रपति कार्यालय शीतलनिवासमा आए । लामो समयदेखि व्यावसायिक रूपमा कृषिकर्म गरेका किसानले राष्ट्रपति रामचन्द्र पौडेलबाट उत्कृष्ट कृषक पुरस्कार ग्रहण गरे ।
पहिलो पटक राष्ट्रपतिको हातबाट नगद दुई लाखसहित प्रमाणपत्र पाउँदा किसान उत्साही देखिने नै भए । प्रत्येक प्रदेशबाट दुई जना कृषकका दरले कृषि व्यवसायमा उत्कृष्ट काम गरी छनोटमा परेका १४ किसान पुरस्कृत भए । कृषिकर्म गरी आफ्नो ठाउँमा नमुना कृषक बनेका उनीहरू कर्मको फलस्वरूप राष्ट्रपतिबाटै पुरस्कृत हुँदा हर्षित मात्र होइन, थप उत्साही देखिए ।
शिक्षण पेसा त्यागेर तीन दशकअघिदेखि कृषि पेसामा संलग्न सल्यानका भरतनाथ योगी पुरस्कार पाउँदा ठुलो हौसला मिलेको बताउनुहुन्छ । सम्भावनाको खोजी गर्ने क्रममा आफ्नो जन्मभूमिमा केही गर्न सकिन्छ कि भनेर २०५२ सालदेखि एक सय बोटबाट सुन्तला खेती सुरु गर्नुभएका योगीले हाल ९५० बोटको सुन्तला बगैँचा बनाउनुभएको छ ।
यस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाका गोविन्द ओली विदेशमा सिकेको सिप लिएर तरकारी खेती गरिरहनुभएको छ । उहाँले गरेको तरकारी खेतीले राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ । नेपालमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विदेशमा सिकेको सिप र लगानी गरेर तरकारी खेती सुरु गरिएको उहाँको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि पेसामा फरक फरक क्षेत्रमा संलग्न किसानलाई पुरस्कृत गरेको हो । कृषि पेसालाई आकर्षित, मर्यादित र सम्मानित गराउनका लागि प्रदेश सरकारले सिफारिस गरेका आधारमा मन्त्रालयले पुरस्कार वितरण गरेको हो ।
पुरस्कृत कृषकमा कोशी प्रदेशबाट सुरेशकुमार मेहता (आर्य कृषि फार्म) र रमेश साह (रमेश कृषि फार्म), मधेश प्रदेशबाट भरतकुमार यादव (शम्भुनाथ माछा फार्म) र हिराबहादुर थापामगर (निजगढ केरा एग्रिकल्चर), बागमती प्रदेशबाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रिन लाइन एग्रो प्रालि) ले पुरस्कार पाउनुभएको छ । यस्तै गण्डकी प्रदेशबाट छिरिङढोका गुरुङ (ङ्वाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फार्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फार्म), लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाद्यान्न बाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फार्म) हुनुहुन्छ ।
त्यस्तै कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फार्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फार्म प्रालि) हुनुहुन्छ । ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार पुरस्कृत गरिएको हो ।
उत्कृष्ट कृषकलाई पुरस्कार वितरण गर्दै राष्ट्रपति रामचन्द्र पौडलले कृषिबाटै मुलुकको आर्थिक समृद्धि हासिल गर्ने हुँदा यस क्षेत्रलाई आकर्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बिउबिजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकका समस्याको पहिचान गरी उनीहरूको मनोबल उच्च बनाउनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उत्कृष्ट कृषक पुरस्कारले कृषि पेसालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै यसले समाजमा नयाँ प्रेरणा दिएको बताउनुभयो ।