भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्न थालेको छ ।
म्याग्दीको बेनी नगरपालिका– ढावामा परम्परागत शैलीबाट थाक्रो बनाएर भण्डारण गरिएको मकै । मकैलाई घुन, किरा, मुसाबाट जोगाउन तथा सुकाउनका लागि ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन रहेको छ ।
जुम्लाको तिला गाउँपालिकाद्वारा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा यहाँका स्थानीयवासी हुड्के नाच प्रस्तुत गर्दै । पछिल्लो समयमा हुड्के नाचको उचित संरक्षणमा ध्यान जान नसकेपछि सङ्कटमा परेको स्थानीयको भनाइ छ ।
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक दलहरुबिच रहेको गाली गलौज संस्कृति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी दाङले आयोजना गरेको एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी पोख्रेलको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
झापाको अर्जुनधारामा राष्ट्रिय सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को टोलीले स्थलगत अवलोकनसहित आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त हुने राय दिएपछि यसका लागि प्रक्रिया सुरु भएको हो ।
गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गे पुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न आउँदै विद्यार्थी ।
सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रको विकास आयोजना प्रभावित भएको बताउनुभएको छ ।
रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नागीमा मङ्गलबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री नष्ट गरिँदै । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा ७ र ८ नम्बर वडाका ३६ वटा पसल अनुगमनका क्रममा भेटिएको करिब रु ५१ हजार ९४० बराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको हो ।
दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौधरीको मृत्यु भएको हो ।
धनकुटामा नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ। श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलका पदाधिकारीको बैठकले नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –३ मा लागेको बेल्टापु बेलामा सञ्चालित काठे पिङ खेल्ने क्रममा मंगलबार दिउँसो एक किशोरी घाइते भएकी छन् ।
सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ।
दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका –२ गांखेतको डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालक दलबहादुर बिष्टको मृत्यु भएको हो ।