झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बू साउन अन्तिमदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैँची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरका रूपमा लिम्बूले रोजगारी पाउँदै आउनुभएको छ । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनुभएका लिम्बूलाई इलामका किसानले दिनभरको रोजगारीसँगै ‘ओभर टाइम’ कामसमेत दिने गरेका छन् । बिहान ७ देखि साँझ ४ बजेसम्म अलैँची टिपेको रकमबाहेक प्रतिकिलोग्राम अलैँची छोडाउँदा पाँच रुपियाँ थप पाउने व्यवस्थासमेत छ । “बिहान ७ देखि ४ बजेसम्म अलैँची टिप्छौँ,” लिम्बूले भन्नुभयो, “मेलाको कामपछि घरमै बसेर छोडाउँदा प्रतिकेजी पाँच रुपियाँसमेत कमाइ हुन्छ ।”
नयाँ आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको निक्षेप सङ्कलनमा सुधार आउन सकेको छैन । साउन महिना लागेपछि वाणिज्य बैङ्कको निक्षेप सङ्कलनमा झनै सुस्तता आएको हो । वाणिज्य बैङ्कहरुको छाता संस्था नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा वाणिज्य बैङ्कहरूको निक्षेप ३२ अर्ब रुपियाँले घटेको छ । साउन ६ देखि २० गतेसम्म बैङ्कको निक्षेप ३२ अर्ब रुपियाँले घटेको हो ।
मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि घट्न थालेको छ । दुई दशकअघिसम्म वार्षिक करिब अर्ब रुपियाँको निर्यात हुने गरेकामा अहिले केही करोडमा मात्र सीमित भएको छ । पछिल्लो तथ्याङ्कअनुसार गत आव २०७८/७९ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख रुपियाँको निर्यात गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । त्यसअघि आव २०७७/७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख रुपियाँको निर्यात भएको थियो । सङ्घका अनुसार आव २०७६/७७ मा
धरानको सर्दु खोलाबाट बिजुली उत्पादन भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को सक्रियतामा १० दिनको श्रमदानबाट ७५० बाट क्षमताको टर्वाइन जडान गरी मिनी माइक्रो हाइड्रोपावर सञ्चालन गरेर बिजुली उत्पादन गरिएको हो । पावर हाउसमा ३१ मिटरको हेडबाट पानी झारेर टर्वाइन घुमाएर बिजुली निकालिएको योजनाका प्रबन्धक तर्क मगरले जानकारी दिनुभयो । वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको र यसबाट हाललाई २० वटा चिम बाल्न सकिने उहाँले जानकारी दिनुभयो ।
‘आलु काटी तामा हजुर छेपारोलाई जामा, भ्यागुतोलाई इस्टकोट...’ साढे चार दशकअघि रेडियो नेपालबाट घन्किएको यो कालजयी गीत अहिले पनि हाटबजारदेखि भान्सासम्म उत्तिकै सान्दर्भिक बनेको छ । असार लागेदेखि नै गाउँघरमा तामाको बास्नाले यो लोकगीतलाई पनि स्मरण गराएको छ । तामा नेपाली संस्कृतिको द्योतक पनि हो । यसको स्वाद र सम्झनाले मात्र पनि मन दङ्ग हुन्छ । मीठो, स्वादिलो र औषधिजन्य गुणले भरिभराउ भएकाले नेपाली भान्साको लोकप्रिय परिकारमा पर्छ । शुभ कार्यदेखि पितृ कार्यसम्म यसको प्रयोग उत्तिकै हुने गरेको छ ।
के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका छन्। इन्टरनेट प्लेटफर्ममार्फत हरेक व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्ने अवसर छ। इन्टरनेटमाथिको पहुँच बढ्दो छ। युट्युब पनि एउटा यस्तै इन्टरनेट प्लेटफर्मका रूपमा प्रयोगमा आइरहेको छ। यो प्लेटफर्ममार्फत पनि विभिन्न सूचना तथा सामग्री प्रवाह भइरहेका छन्। यसरी सूचना प्रवाह हुँदा त्यसलाई पनि सञ्चारमाध्यम मान्ने र त्यहाँ काम गर्नेलाई पत्रकार मान्ने सन्दर्भमा बहस भइरहेको पाइन्छ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २२२ जना विद्यार्थी सहभागी थिए। तीमध्ये एसईई नतिजाको सबैभन्दा उच्च ग्रेड अर्थात् ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी १७ जना छन्। एसईईको नतिजा सार्वजनिक भएसँगै यस विद्यालयमा कक्षा ११ मा भर्नाको आवेदन दिने विद्यार्थीको घुइँचो लाग्न थालेको छ। सस्तो शुल्कमा स्तरीय शिक्षा भएका कारण आफूहरूले थाम्नै नसक्ने गरी विद्यार्थी भर्ना हुन आउने गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल बताउनुहुन्छ।
आवश्यकता, चेतना र प्राणवायु अथवा आत्माद्वारा सञ्चालित प्रकृत्य निर्मित मानवरूपी भौतिक यन्त्र मानव हो। यो यन्त्रको आवश्यकता उपभोग्य र उपयोगी वस्तुरूपी इन्धनबाट हुन्छ र यसको ब्रेक र लाइट चेतना हो। आँखाले हेरेर, कानले शब्दद्वारा सुनेर, नाकले गन्धद्वारा, जिब्रोले तीतो, पीरो, अमिलो र गुलियो रसद्वारा, छालाले तातो–चिसो स्पर्शद्वारा पत्ता लगाउँछ। मानव सृष्टिमा सर्वोत्कृष्ट रूपमा स्थापित भएको छ । यसमा अलग राय छैन। यसको वास्तविकता आध्यात्मिक दर्शनमा बताएजस्तो हो या नास्तिक दर्शनमा बताए जस्तो हो। सत्य–तथ्य वैज्ञानिक र प्रत्यक्ष प्रमाण कतै र कुनै पनि छैन। आ–आफ्नो विश्वासमा आधारित छ।
पृथ्वीमा जैविक अस्तित्वसँगै संवाद र सञ्चारको आवश्यकता महसुस भएको हो। यसका लागि विभिन्न सङ्केतहरू जन्मिँदै गए। मानवेतर प्राणीहरू अहिले पनि त्यत्तिकैमा बाँचेका छन्। जैविक विकास प्रक्रिया अगाडि बढ्ने क्रममा जब मानव अस्तित्वमा आयो, ऊ अङ्ग–प्रत्यङ्गको इशारालाई देख्ने–देखाउने वा मुख र कानको माध्यमले अमूर्त ध्वनिहरू निकालेर सुन्ने–सुनाउनेमा मात्रै सीमित रहेन। उसका ध्वनिहरूले सुरूमा एकध्वनीय र पछि बहुध्वनीय शब्दहरू बने। फेरि पदबन्ध बन्यो, वाक्यांश बन्यो र वाक्य हुँदै भाष्यसम्म बन्यो। यसरी ध्वनिदेखि भाष्यसम्मको उसको निर्मितिले भाषाको निर्माण गरेको हो। तसर्थ भाषा मानवीय निर्मिति हो, मानवे
आम्दानी नभएर दानापानी खुवाउन नसक्ने भएपछि चितवनको सौराहामा निजीस्तरमा पालिएका हात्ती बिक्री गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण पर्यटक आउन छाडेपछि तीन वर्षयता पचास प्रतिशत हात्ती घटेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । तीन वर्षअगाडि ६५ वटा हात्ती रहेको सौराहा क्षेत्रमा अहिले ३२ वटा मात्र हात्ती पालिए छन् ।
टीकापुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा (एसईईपछि तीन वर्ष) तहमा कृषि इन्जिनियरिङको पढाइ सुरु भएको छ ।
भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ । तर चार दिनको प्रयासमा पनि ढाकछोपको कार्य पूरा भएको छैन । बैतडीको मेलौली नगरपालिका–८, कोटीगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ तीन वर्षदेखि बाँझो रहेको र आर्थिक अनियमितता भएको विषयमा यही साउन २३ गतेको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो । त्यसको भोलिपल्ट नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अनियमितताको छानबिन गर्न भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरीलाई निर्देशन दिनुभएको थियो ।
प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड पुगेर श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का दिन भक्तजनले कुण्डमा स्नान गरेर यज्ञोपवित्र धारण गरेका छन्। समुद्री सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको कुण्डमा शुक्रबार स्नान गर्न श्रद्धालुको घुइँचो लागेको थियो। नागपञ्चमीको दिनदेखि साउन शुक्ल पूर्णिमाको दिनसम्म गोसाइँकुण्ड स्नानका लागि भक्तजन रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा आउने गर्छन् । हरेक वर्ष कुण्डमा मेला भर्न स्थानीयवासीसँगै काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौँलगायत देश विदेशबाट विभिन्न धर्मावलम्बी पुग्ने गरेका छन्।
जलेश्वर नगरपालिकामा २५ वर्षभन्दा बढी समयदेखि बन्न नसकेको मणिपाल कलेज निर्माण कार्य सुरु हुने भएको छ। मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल ओडाद्वारा हस्ताक्षरित साउन १२ गते जलेश्वर नगर कार्यपालिकाको नाउँमा लेखेको पत्रमा वर्षौदेखि बन्न नसकेको मणिपाल कलेजको निर्माण कार्य छिट्टै सुरु हुने जनाइएको छ। जलेश्वर नगरपालिकाले यही साउन ६ गते मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिलाई कलेज निर्माणका लागि ताकेतापत्र पठाएको थियो।
नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले चिकित्सकका लागि आठबुँदे आचारसंहिता जारी गरिएको जानकारी दिँदै भन्नुभयो, “पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले चिकित्सकलाई आचारसंहिताबाट अनिवार्य रूपमा बाँध्नुपर्ने देखियो ।”