• १२ वैशाख २०८१, बुधबार

सन्दर्भ : हात्ती दिवस

पाल्न नसक्ने भएपछि हात्ती बिक्री गरिँदै

blog

शालिग्राम नेपाल

चितवन, साउन २८ गते । आम्दानी नभएर दानापानी खुवाउन नसक्ने भएपछि चितवनको सौराहामा निजीस्तरमा पालिएका हात्ती बिक्री गरिएको छ । 

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण पर्यटक आउन छाडेपछि तीन वर्षयता पचास प्रतिशत हात्ती घटेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । तीन वर्षअगाडि ६५ वटा हात्ती रहेको सौराहा क्षेत्रमा अहिले ३२ वटा मात्र हात्ती पालिए छन् । 

उहाँले भन्नुभयो, “विदेशी पर्यटक आउँदैनन्, कमाइ छैन, कसरी हात्ती पाल्ने ? पाल्नै नसक्ने भएपछि धमाधम बिक्री गरेर भारतीय ग्राहकले खरिद गरेर लगेका छन् ।” हाल भने हात्ती बिक्री गर्न अदालतले रोक लगाएको छ । बिक्रीका लागि १५ वटा हात्ती तयारी अवस्थामा राखिएको थियो ।  

सौराहामा आउने पर्यटकसँग शुल्क लिएर थारू बस्ती र मध्यवर्ती जङ्गल घुमाउन होटल तथा व्यक्तिले हात्ती पालेका थिए । तीन वर्षयता विदेशी पर्यटक आउन ठप्पजस्तै भएको छ, अध्यक्ष भट्टराईले भन्नुभयो, “आएका आन्तरिक पर्यटक पनि हात्ती सफारीमा कमै हिँड्न थालेपछि कमाइ घटेको हो ।” दानापानी किनेर खुवाउनुपर्ने, निजी हात्तीलाई निक्ुञ्जभित्र चर्न जान नदिने भएपछि पाल्नै समस्या भएको उहाँको भनाइ छ । 

कोभिड–१९ पछि पर्यटकको कमी हुँदा मध्यवर्ती क्षेत्रमा सफारीका लागि जाने हात्ती घटेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । सौराहा क्षेत्रमा सबैभन्दा धेरै हात्ती सफारी गर्ने सामुदायिक वन बाघमारा हो । यहाँ तीन वर्षअगाडि मात्रै बिहान दुई दर्जन र बेलुका दुई दर्जन हात्ती सफारीका लागि जाने गरेका थिए । अहिले मु्स्किलले बिहान र बेलुका गरी १० वटा हात्ती मात्र जाने गरेका छन्, अध्यक्ष तामाङले बताउनुभयो । 

पर्यटक निकुञ्जभित्र जीप सफारी र मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीमा जाने गर्छन् । सरकारी हात्ती निकुञ्ज सुरक्षा र अन्य सरकारी कामको लागि मात्र प्रयोग गर्ने गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमु्ख संरक्षण अधिकृत हरिभद्र आचार्यले सरकारी हात्ती ६१ वटा रहेकामा ती सबै सरकारी काममा लागि खटिने गरेको जानकारी दिनुभयो । हात्ती निकुञ्जको सुरक्षा पोस्टमा सुरक्षार्थ खटिएको कार्यालयले जनाएको छ । 

वन्यजन्तु सुरक्षामा हात्तीको ठूलो महत्त्व रहेको निकुञ्जका प्रमु्ख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । वन्यजन्तुको सुरक्षासँगै गैँडा र बाघ गणनामा हात्ती प्रयोगमा आउने गरेको छ । सौराहाको हात्ती प्रजनन केन्द्रमा २२ वटा हात्ती रहेकोमा १० वटा छावा र १२ वटा माउहात्ती रहेको प्रजनन केन्द्र खोरसोरका प्रमुख मनरुपन चौधरीले जानकारी दिनुभयो । केन्द्रमा अहिले दुईवटा हात्ती गर्भिणी अवस्थामा छन् । १० वटा छावामध्ये चारवटा तालिम दिने उमेरका छन् । 

हात्ती दिवसका अवसरमा सौराहामा निजी तथा सरकारी हात्तीलाई चितवनको पर्यटन व्यवसायी, संरक्षणकर्मी, चितवन राष्ट्रिय निकुञ्ज, युनाइटेड हात्ती सहकारी लिमिटेडको संयुक्त आयोजनामा शुक्रबार भोज खुवाइएको छ । ‘हात्तीको संरक्षण गरौँ, प्रकृतिको वरदान हात्तीको सुरक्षा’ भन्दै दिवस मनाइएको हो ।