• ५ साउन २०८१, शनिबार

जलेश्वरमा मणिपाल कलेज बन्ने सङ्केत

blog

महेशकुमार दास 

जलेश्वर, साउन २८ गते  । जलेश्वर नगरपालिकामा २५ वर्षभन्दा बढी समयदेखि बन्न नसकेको मणिपाल कलेज निर्माण कार्य सुरु हुने भएको छ।

मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल ओडाद्वारा हस्ताक्षरित साउन १२ गते जलेश्वर नगर कार्यपालिकाको नाउँमा लेखेको पत्रमा वर्षौदेखि बन्न नसकेको मणिपाल कलेजको निर्माण कार्य छिट्टै सुरु हुने जनाइएको छ। जलेश्वर नगरपालिकाले यही साउन ६ गते मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिलाई कलेज निर्माणका लागि ताकेतापत्र पठाएको थियो। 

सोही ताकेतापत्रको जवाफ फर्काउँदै कलेज निर्माण छिट्टै सुरु हुने जानकारी आएपछि जलेश्वरलगायत यस क्षेत्रमा खुसियाली छाएको स्थानीय समाजसेवी विजय गुप्ताले बताउनुभएको छ। 

एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिले पठाएको पत्रमा कलेज स्थापनाका लागि जग्गा खरिदपश्चात् माओवादी आन्दोलन, मधेश आन्दोलन, भूकम्प, कारोनाको महामारी जस्ता विविध कारणले उक्त कलेज स्थापनासम्बन्धित परियोजना सुरु गर्न नसकेको बेहोरा उल्लेख गरिएको छ। 

कलेज सञ्चालनार्थ आवश्यक आधारभुत भवन तथा पूर्वाधार निर्माण गर्नका लागि पहिलो चरणमा तत्कालै जग्गाको घेराबार लगाउने र वातावरणीय दृष्टिकोणको मध्यनजर गर्दै बिरुवाहरू लगाउने कामको सुरुवात गरिने जनाइएको छ। साथै तत्कालै विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट अनुमति प्राप्त हुनासाथ थप पूर्वाधार निर्माण सुरु गरिने योजना रहेको जानकारी गराइएको छ। 

यस परियोजनामा जलेश्वर नगरपालिकासँग सार्वजनिक निजी साझेदारी नीतिअन्तर्गत विभिन्न सीपमुलक तालिम पनि गर्न सकिने साथै कलेज स्थापनार्थ आवश्यक कर्मचारी नियुक्ति गर्दा स्थानीयलाई प्राथमिकता दिने मनसाय कलेज व्यवस्थापनको रहेको जनाइएको छ। 

जलेश्वर–२ का स्थानीय युवा शिवचन्द्र चौधरीले भन्नुहुन्छ “२५ वर्ष पहिले नै कलेज निर्माणको लागि केही पूर्वाधार बनेको थियो तर त्यस लगत्तै कलेज व्यवस्थापन सम्पर्कविहीन बनेपछि योजना अलपत्र परेको थियो। अहिले आएर फेरि कलेज बन्छ भनेर विश्वास गर्न कठिन छ तर आशा गरौँ कलेज बनोस्। ”

२०५४ सालमा ३० बिघा जग्गा कलेज स्थापनाका लागि भनेर खरिद गरिएको थियो। “जलेश्वरको भविष्य राम्रो होस् भनेर सय भन्दा बढी किसानले प्रति कट्ठा दुई क्विन्टलसम्म धान फल्ने खेत कट्ठाको मात्र १० हजार रुपियाँमा बेचेका थिए।” जलेश्वर नगरपालिका–८, बजराहीका सिताराम झाले भन्नुभयो। “जग्गा बेच्नेको नामावली कलेजभित्र राखिने र जग्गा धनीहरूको परिवारका सदस्यलाई जागिर दिने आश्वासन पनि दिइएको थियो।”

आदर्श गाउँ पञ्चायतबाट २०३९ वैशाख १५ मा नगरपालिकामा परिणत भएको जलेश्वरमा ठूलो इन्जिनियरिङ कलेज खुल्ने चर्चासँगै जग्गाको खोजी थालिएको थियो। जग्गा खोजीकै क्रममा जलेश्वर, बजराही र रतबाराका किसान जग्गा दिन सहमत भएका थिए। 

कलेज निर्माणका लागि २०५२ सालमा भारतको बैङ्गलोरमा मुख्य कार्यालय रहेको मणिपाल ग्रुपका तत्कालीन निर्देशक डी.के. डोगराले स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो। जलेश्वर नगरपालिका कार्यालयका अनुसार, मणिपाल एजुकेसन ग्रुपले २०५४ वैशाख ९ गते कलेज भवन बनाउन नक्शा पाससमेत गराएको थियो। त्यसको ठेक्का चितवन कोई प्रालिलाई दिइएको थियो। त्यतिबेला भवन निर्माणको तयारी चलिरहँदा रातु नदीमा बाढी आएपछि रोकिएको काम त्यसपछि कहिल्यै अघि बढेन । “जग खन्ने, निर्माण सामग्री गोदाममा राख्नेसम्म काम भइसकेको थियो।” स्थानीय विश्वनाथ साहले भन्नुभयो “बाढीको कारण देखाएर काम रोकियो, पछि त कलेज निर्माणको नाउँमा राजनीतिक रोटी सेक्ने काम मात्रै भयो त्यही भएर होला कलेज बनेन।”

रातु नदीमा बाढी आएपछि कलेज निर्माण रोकेको भारतीय कम्पनी फर्केरै कहिल्यै आएन। राजनीतिक दलले पनि इन्जिनियरिङ कलेजलाई २५ वर्षदेखि चुनावी मुद्दा मात्र बनाइरहे। मणिपाल कलेज स्थापना गराउने आश्वासन बाँढ्दै यस क्षेत्रका धेरै राजनीतिकर्मी नगरप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य निर्वाचित पनि भए तर कलेज बन्ने कुनै छाटकाँट नै देखिएको थिएन। 

महोत्तरीको सदरमुुकाम जलेश्वर बजारदेखि एक किलोमिटरको दूरीमा रहेको सो आयोजनाभन्दा ५०० मिटर पश्चिममा रहेको रातुु खोलाको कारण पहिले बजारमा बाढी आए पनि आयोजना भएको ठाउँमा जग्गा किनेर माटो पुरेदेखि अहिलेसम्म पानीले नछोएको जलेश्वरका स्थानीयको भनाइ छ। किसानका खेती योग्य जग्गा स्थानीय प्रशासनको अनुरोधमा एउटा विदेशी संस्थालाई सहज मूल्यमा दिएको र उद्देश्य अनुरुप कार्य नगरी जग्गा गौचरणमा परिर्वतन भएकाले स्थानीय जग्गा फिर्ता हुनुपर्ने या सही सदुुपयोग हुनुपर्ने माग धेरै पहिल्यैदेखि गर्दै आएका थिए।