उपत्यकाको सडक, चोक र गल्लीमा थुप्रिएको फोहोरको व्यवस्थापन अबको दुई दिनभित्र सकिने दाबी काठमाडौँ महानगरपालिकाले गरेको छ । सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका प्रमुख सरकारदीप श्रेष्ठले भन्नुभयो, “करिब दुई महिनादेखि थुप्रिएको फोहोरको जग भत्किसकेको छ । टेकु ट्रान्स्फर स्टेसनमा रहेका फोहरबाहेक अबको दुई दिनभित्रमा सडक, चोक र गल्लीका सबै फोहोरको सङ्कलन तथा व्यवस्थापन सम्पन्न हुनेछ ।”
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको छ । आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो । आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ; जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।
दोलखाको सैलुङ गाउँपालिका–५ मा नेपालमै प्रख्यात मानिने गोल्मा राजा गोल्मा रानीको मूर्ति स्थापना गरिएको छ । बागमती प्रदेश सरकारबाट प्राप्त ३० लाखमध्ये १५ लाख ४४ हजार रुपियाँमा मूर्ति स्थापना गरिएको उपभोक्ता समिति अध्यक्ष नवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार काम भएबराबरको भुक्तानी भएको छ र बाँकी रकम फिर्ता गएकाले परिसरमा घेराबार गर्न सकिएको छैन ।
भौतिक संरचना र सुविधाका दृष्टिले कमजोर रहेका बागमती प्रदेशका प्रहरी इकाइहरूले पछिल्लो समय सुविधासम्पन्न पूर्वाधार पाएका छन् । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी इकाइका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार बनाउने नीति लिएसँगै प्रहरी इकाइको भवनलगायतका भौतिक संरचना निर्माण भएको हो । सङ्घीय सरकारमातहत रहेका प्रहरी इकाइहरूको भौतिक संरचना निर्माण र सवारीसाधन खरिदमा प्रदेश सरकारले खर्च गरेको भन्दै प्रश्न उठाइँदै आए पनि प्रदेश सरकारले प्रहरी इकाइहरूलाई सुविधासम्पन्न बनाउन कार्यक्रम र बजेटलाई निरन्तरता दिँदै आएको छ ।
चर्को ब्याजदरमा ऋण लगानी गर्ने मिटरब्याजीविरुद्धमा उजुरी गर्न गृह मन्त्रालयले आग्रह गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा आफूहरूलाई चर्को ब्याज दरमा ऋण लगानी गरेको भन्दै १७ जना पीडितले उजुरी दर्ता गराएका छन् । साउन २७ गते गृहमन्त्रीस्तरीय बैठकले भदौ ५ गतेसम्ममा मिटरब्याजीविरुद्धमा उजुरी दिन निर्णय गरेको थियो । मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउने समयमा काभ्रेपलाञ्चोक जिल्लामा १७ जनाले २१ जना मिटरब्याजी र चारवटा सहकारी संस्थाको नाममा मिटरब्याज र ठगी भएको भन्दै उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा मिटरब्याजी र मिटरब्याजमा पैसा लगाउने संस्थाबारे छानबिन गर्न बाँकी रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । उहाँले कार्यालयमा परेका उजुरीको विषयमा गृह मन्त्रालयबाट जारी भएको कार्यविधिका आधारमा छानबिन गरिने बताउनुभयो ।
बिर्तामोडका विभिन्न अस्पतालले अस्पतालजन्य फोहोर विरिङ नदीमा फाल्दा नदी प्रदूषित भएको छ। रातको समयमा बिर्तामोडको कनकाई अस्पताल, मनमोहन अस्पताल र विभिन्न आँखा अस्पतालबाट उत्पादित फोहोर, सिरिन्जलगायतका अस्पतालजन्य फोहोर सिधैँ नदीमा फाल्दा नदी प्रदूषित बनेको छ भने नदी आसपासमा बसोबास गर्ने स्थानीयसमेत मर्कामा परेका छन्।
दुई वर्षअघि सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकाहरूलाई जग्गा हस्तान्तरण गरिएको छ। २०७७ असार २७ गते राति गएको पहिरोबाट विस्थापित ५५ परिवारले खाँदबारी नगरपालिका–७ मा निःशुल्क जग्गा पाएका छन्। पहिरो विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिका ल्याइएको हो। बाँकी ३७ परिवारलाई सिलिचोङ–१ कै चित्रे र बखल्टुम भन्ने स्थानमा पुनस्र्थापना गरिएको छ। गाउँ नै बग्ने गरी गएको पहिरोको कारण विस्थापित भएकालाई पुनर्वास हुन चाहेको ठाउँ रोज्न लगाइएको थियो। सो क्रममा ५५ जनाले खाँदबारी रोजेका थिए।
भक्तपुरको ५५ झ्याले दरबारबारे इतिहासका पानामा पढ्न पाइन्छ तर दाङको ५५ झ्याले दरबारको कहीँकतै चर्चा भएको पाइँदैन । निजी स्वामित्वमा रहेको दाङको ५५ झ्याले दरबारका बारेमा न प्रचार भएको छ, न त अध्ययनका लागि कोही त्यहाँ पुग्ने गरेका छन् ।
काठमाडौं, भदौ ८ गते । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राज्यले कला र संस्कृतिलाई महत्व दिन नसकेको गुनासो गर्नुभएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागले बुधबार नेपाल कला परिषद् बबरमहलमा आयोजना गरेको ‘कला प्रदर्शनी’को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको विकासका लागि सरकारले काम गर्न नसकेको गुनासो गर्नुभयो। “कला, संस्कृतिको विकास भएमात्र देशको विकास हुन्छ”, उहाँले भन्नुभयो। नेत्री कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत चार वर्षदेखि छुट्टै विभाग स्थापना गरी कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै आइरहेको उल्लेख गर्नुभयो। कलाकारभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि कला प्रदर्शनीले सहयोग पुग्ने उहाँको भनाइ थियो।फाउन्डेशनकी अध्यक्ष कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत १२ वर्षदेखि खोज, अनुसन्धान र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो। उहाँले पछिल्लो समय मुलुकमा प्रविधिको प्रयोग बढे पनि इतिहासलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थ थापाले राज्य कला र संस्कृतिको सम्मान राज्यले गर्नुपर्ने बताउनुभयो। “जुन देशमा कला र संस्कृतिमा सम्मान र लगानी हुन्छ, त्यो देश सम्पन्न भएको ठहरिन्छ”, उहाँले भन्नुभयो। संस्कृति भएन भने देशको पहिचान गुम्ने उहाँको भनाइ थियो। अध्यक्ष थापाले आफ्नो माउ पार्टी कांग्रेस र संसद्मा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो।ध्याने बुद्ध फाउन्डेशनका अध्यक्ष राजु शाक्य, वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कला देशको पहिचान गराउने माध्याम भएकाले कलाको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो। उहाँहरूले नेपाली कलाकारले कोरेका कला बिक्रीवितरण नहुँदा कलाकारहरू समस्यामा परेको उल्लेख गर्नुभयो।जीपी कोइराला फाउन्डेशन कला तथा संस्कृति विभाग प्रमुख एवं मिथिला येँ आर्ट ग्यालरीका संस्थापक श्यामसुन्दर यादवले प्रकृति र संस्कृतिको धनी नेपाललाई कलामार्फत विश्वमाझ फैलाउनुपर्ने बताउनुभयो। उहाँले जीपी फाउन्डेशन कला तथा संस्कृति विभागले विभिन्न समयमा कला प्रदर्शनी गर्दै आएको उल्लेख गर्नुभयो।प्रदर्शनीमा नेपालका वरिष्ठ कलाकार अमात्य, किरण मानन्धर, विभूषण ताम्राकार, नरेश सैँजु, जीवनराज उपाध्याय, गौतमरत्न तुलाधर बज्राचार्य, लय मैनाली, महेश आचार्य, जया शर्मा, रेनु यादवलगायतका २८ कलाकारको कला प्रदर्शनमा राखिएको छ। उक्त प्रदर्शन यही भदौ ११ गते शनिबारसम्म चल्नेछ।
पर्सा जिल्लाको वीरगन्जको अलौंमास्थित एकीकृत चेकजाँच चौकी (आइसिपी) परिसरमा रहेका भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात गरिएका सवारी साधन ।
चितुवाको आक्रमणबाट तनहुँमा बुधबार साँझ एक बालक गंभिर घाइते भएका छन्
काठमाडौं, भदौ ८ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ। अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागद्वारा बुधबार आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ।”जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादी रूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गर्नुभयो।कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्ती मगरले तीजमार्फत् अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कम्युनिष्टहरू भौतिकवाद र विज्ञानमा विश्वास गर्छन्, उनीहरूले तीजलाई समाज रूपान्तरणका लागि चेतना विस्तार गर्ने पर्वका रूपमा मनाउनुपर्छ।” अखिल (क्रन्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो। यसैबीच नेपाल राष्ट्रिय कर्मचारी महासङघ, महिला विभागले बुधबार यहाँ तीज विशेष कार्यक्रमम आयोजना गरेको छ। सो कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीले तीज मनाएका छन्। रासस
रुपन्देहीको बेलहिया बाइपासमा रोडमा साउन २९ गते लुटपाट गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नयाँ दिल्ली, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ। भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ।जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ। जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’ मा सहकार्य गरिरहेका छन्।मोदी र आबेबीच उहाँ प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो। सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेट्नुभएको थियो। गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गर्नुभएको थियो। जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उहाँ होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उहाँको अवस्था गम्भीर बन्दै गएको थियो।त्यही दिन स्थानीय अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो। आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो। सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ।यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो। (रासस/एएनआई)
२० वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि बुधबार प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ।