• १३ साउन २०८१, आइतबार

दाङको पचपन्नझ्याले दरबार जीर्ण

blog

दाङको गोबरडियामा रहेको ५५ झ्याले दरबार । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, भदौ ९ गते । भक्तपुरको ५५ झ्याले दरबारबारे इतिहासका पानामा पढ्न पाइन्छ तर दाङको ५५ झ्याले दरबारको कहीँकतै चर्चा भएको पाइँदैन । निजी स्वामित्वमा रहेको दाङको ५५ झ्याले दरबारका बारेमा न प्रचार भएको छ, न त अध्ययनका लागि कोही त्यहाँ पुग्ने गरेका छन् ।

दिनप्रतिदिन दरबार जीर्ण हुँदै गएको छ । दरबारमा बस्न नमिल्ने अवस्था छ । देउखुरीको गढवा गाउँपालिका–३, गोबरडियामा रहेको ५५ झ्याले दरबारसँग १३२ वर्षे लामो इतिहास जोडिएको छ । १९४७ सालमा सुरु गरेर १० वर्षमा निर्माण सम्पन्न भएको उक्त दरबार तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीका बाबु जोखन चौधरीले निर्माण गर्नुभएको हो । व्यक्तिगत रूपमा सोखका लागि निर्माण गरिएको उक्त दरबार बनाउन भारतका विभिन्न स्थानबाट दक्ष कर्मी ल्याइएको थियो ।स्थानीय पल्लु चौधरीले जोखन चौधरीले नेपालकै नमुना दरबार निर्माण गर्ने भनेर भारतबाट दक्ष मिस्त्री ल्याएर निर्माण गर्न लगाएको बताउनुभयो । 

तीनतले सो दरबारको माथिल्लो तलालाई १९९० सालको भूकम्पले क्षति पु-यायो । यसले गर्दा ५५ झ्यालको पहिचानलाई कम गरायो । अहिले बाँकी रहेको दोस्रो तलामा सिंह र हात्तीका मूर्ति राखिएका छन् । अहिले पनि भवनको स्वरूप हेर्दा शानदार नै देखिन्छ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रका जस्ता काष्ठकला पनि उक्त दरबारमा देख्न सकिन्छ । दरबार नजिकै हंशेश्वर महादेवको मन्दिर पनि छ । स्थानीय आशाराम चौधरीका अनुसार उक्त मन्दिर दरबारभन्दा पाँच वर्षपछि निर्माण गरिएको हो । 

पुस्तासँगै दरबारको स्वामित्व पनि सर्दै आएको छ । अंशियार पनि धेरै भइसकेका छन् । जोखनबाट उहाँका छोरा परशुनारायण, उहाँका भाइ र छोराहरू हुँदै अहिले चार पुस्तामा प्रवेश गरेको छ । परशुनारायण चौधरीका नाति मनोज चौधरीले दरबार संरक्षणमा चासो दिए पनि यसलाई सङ्ग्रहालयका रूपमा विकास गर्न नसकिएको बताउनुभयो । “यसका अंशियार धेरै भयौँ । सबैको कुरा मिल्दैन । त्यसैले सङ्ग्रहालयका रूपमा विकास गर्न सफल भएका छैनौँ,” उहाँले भन्नुभयो । 

उक्त दरबार निर्माण गर्दा चौधरी परिवारले राणाकालमा मुद्दा खेप्नु परेको थियो । विशाल दरबार, ५५ झ्याले भवन, सिंहको आकृतिलगायतका कारण राणाहरूसँग प्रतिस्पर्धा गर्न खोजेको भन्दै जोखनमाथि मुद्दा चलाइएको स्थानीय ज्येष्ठ नागरिक सुनाउँछन् । मुद्दाका कारण दुःख पाउन थालेपछि ५५ झ्यालमध्ये केही झ्याल र आकृति हटाउनु परेको थियो । त्यसपछि सो घटना साम्य भएको थियो । 

उक्त दरबार मर्मतसम्भार गरी थारू सङ्ग्रहालयका रूपमा विकास गर्न सरकारले प्रयास गर्दा पनि घरजग्गाको स्वामित्वकर्ता धेरै हँुदा समस्या हुँदै आएको छ । गढवा गाउँपालिका–३ का वडाध्यक्ष तुलसी अधिकारीले दरबार संरक्षण गर्न पहल गरिए पनि सबै अंशियारको आन्तरिक विवादका कारण सम्भव नभएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट दरबारलाई थारू सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन भएको थियो ।