माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएसँगै धेरै विद्यार्थी कक्षा ११ मा कुन विद्यालय अध्ययन गर्ने भन्ने खोजीमा लागिसकेका छन् । यस्ता विद्यार्थीका लागि उपत्यकामा रहेका सामुदायिक विद्यालय पनि गतिलो विकल्प बनिरहेका छन् । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पाइने हुनाले केही सामुदायिक विद्यालयमा त कक्षा ११ मा भर्ना हुनका लागि धान्नै नसक्ने गरी विद्यार्थीको भिड लाग्ने गरेको छ ।
मुलुकभर २७ हजारभन्दा बढी सामुुदायिक विद्यालय सञ्चालनमा छन् । केही विद्यालय भने निजीस्तरबाट सञ्चालित सरह रहेका छन् । कतिपय सामुदायिक विद्यालयमा निजीभन्दा पनि उच्च गुणस्तरको अध्यापन हुने गरेको त्यहाँको नतिजाले स्पष्ट देखाएको छ । यसैमध्येको एक हो, त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालय । यस स्कुलमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कानुन मानविकी र शिक्षा विषय अध्यापन हुने गरेको छ । बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गराइने यस विद्यालयमा चालु आर्थिक वर्षमा चार हजार तीन सय विद्यार्थी भर्ना भएका थिए । गत वर्ष ११ कक्षा अध्ययन गर्नका लागि एक हजार तीन सयले प्रवेश परीक्षा दिएकोमा छ सय जना उत्तीर्ण भई अध्ययन गरिरहेका छन् । यो वर्ष पनि ११ कक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या थप बढ्ने विद्यालयले अनुमान गरेको छ ।
यस वर्षको एसइईमा शतप्रतिशत नतिजा हासिल गर्न सफल यस विद्यालय उच्च गुणस्तरको अध्ययन गराउने सामुदायिक विद्यालयमध्ये पर्ने गरेको छ । विद्यालयको कक्षा ११ मा विषय अनुसार फरक फरक शुल्क रहेको छ । यहाँ गुणस्तरीय शिक्षाका लागि अत्याधुनिक प्रयोगशाला, पुस्तकालय, प्रविधिमैत्री र बालमैत्री ढङ्गले अध्यापन गराइन्छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार सुलभ मूल्यमा गुणस्तरीय शिक्षामा जोड दिइएको छ । जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । यहाँ अध्यापन गराउने ९० प्रतिशत शिक्षकले आफ्ना छोराछोरीसमेत यही स्कुलमा अध्यापन गराउने गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउनुहुन्छ ।
यस विद्यालयमा विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि ११ कक्षाको ३५ हजार र १२ कक्षाको ३० हजार रुपियाँ वार्षिक शुल्क रहेको छ । यस्तै मानविकी विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि ११ कक्षामा १२ हजार र १२ कक्षामा १० हजार रुपियाँ वार्षिक शुल्क रहेको छ । कानुन विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि ११ कक्षामा १८ हजार र १२ कक्षाका लागि १५ हजार रुपियाँ वार्षिक शुल्क रहेको छ । यस वर्ष स्कुलबाट अध्ययन गरेर गएका १५ जना विद्यार्थीले एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । तालिमप्राप्त योग्य शिक्षकबाट अध्यापन गराइने भएकाले पनि निजी विद्यालयभन्दा पनि उत्कृष्ट रहेको प्रअ कँडेलको भनाइ छ । विज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक पर्ने अत्याधुनिक प्रयोगशाला, कम्प्युटरको व्यवस्था छ । कमजोर विद्यार्थीलाई विशेष प्राथमिकता दिएर अध्यापन गराइन्छ । साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ । यस विद्यालयमा मुलुकभरबाट आएका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा पनि उच्च गुणस्तरको अध्यापन गराइन्छ । छात्राले मात्र अध्ययन गर्ने यस स्कुलमा विद्यार्थीको आकर्षण बढ्दो अवस्थामा रहेको छ । व्यवस्थापन, मानविकीका साथै सिभिल इन्जिनियर विषयको समेत अध्ययन गराइन्छ । यस स्कुलमा सौन्दर्य शिक्षा (ब्युटिसियन) समेत अध्यापन गराइन्छ । नेपालमै पहिलो पटक पाठ्यक्रममा राखेर विगत तीन वर्षदेखि विद्यालयमा सौन्दर्य शिक्षा अध्यापन गराइँदै आएको छ । स्कुलकी प्रधानाध्यापक रिता तिवारीका अनुसार सौन्दर्य शिक्षाको सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक कक्षालाई बढी जोड दिइन्छ । सौन्दर्य शिक्षा अध्ययनरत विद्यार्थीलाई इन्टर्न गर्नका लागि ब्युटीपार्लरमा पठाउने गरिन्छ । अन्य शिक्षा अध्ययन गरेर तत्काल जागिर नपाउने अवस्था रहेकोमा सौन्दर्य शिक्षा अध्ययन गर्नेले १२ कक्षा पास गरेर सहजै काम पाउने गरेका छन् ।
यस्तै तारकेश्वर नगरपालिका लोलाङमा रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयले यस वर्षको एसइईमा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । न्यून शुल्कमा अध्यापन गर्दै आएको यस विद्यालयमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिइने गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीका लागि छात्रवृत्तिको सुविधा उपलब्ध गराइँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक नारायण शर्माका अनुसार यहाँबाट अध्ययन गरेर गएका विद्यार्थी सरकारी सेवामा उच्च तहको सचिव स्तरसम्म कार्यरत छन् । केही विद्यार्थीले भने एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको शर्माले जानकारी दिनुभयो । सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई जोड दिइएको यस विद्यालयले कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरी अध्यापन गराउने गरेको छ ।
भक्तपुरको भक्तपुर दरबार स्क्वायरस्थित त्रिपद्म माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयमा रूपमा चिनिएको छ । हालै सम्पन्न भएको एसइईमा शतप्रतिशत नतिजा हासिल गर्न सफल यसमा विज्ञान, व्यवस्थापन, मानविकी विषय अध्यापन गराइन्छ । व्यवस्थापन समूह अन्तर्गत होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या धेरै छ । २०७० सालदेखि यस विद्यालयमा कक्षा ९ देखि नै प्राविधिक विषय अन्तर्गत सिभिल इन्जिनियर अध्ययन गराइँदै आएको छ । स्कुलका प्रधानाध्यापक राम हाडा विद्यार्थीलाई प्रयोगात्मकसँगै सिर्जनशील बनाउन समूहमा प्रोजेक्ट वर्क गरेर अध्यापन गराइने गरेको जानकारी दिनुभयो ।
सुलभ मूल्यमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको यो विद्यालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट उत्कृष्टमा छनोट भइसकेको छ । यसमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराइनुका साथै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै समय समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको छ ।
यस्तै भक्तपुरको गाम्चा दधिकोटस्थित अरनिको माध्यमिक विद्यालय पनि उत्कृष्ट विद्यालयका रूपमा चिनिन्छ । व्यवस्थापन र मानविकी विषय रहेको यस विद्यालयमा पत्रकारिता, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्ट अध्यापन गराइन्छ । यस विद्यालयबाट यो वर्षको एसइईमा १९ जना विद्यार्थी ‘ए प्लस’ ल्याउन सफल भएका छन् । गत वर्षदेखि होटेल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको यस विद्यालयले विद्यार्थीलाई हप्तामा एक पटक अनिवार्य रूपमा तालिमसँगै विभिन्न होटेलमा भिजिट गराउने गरेको छ । ११ र १२ कक्षामा पाँच सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
११ कक्षा पढ्ने विद्यार्थीका लागि मासिक सात सय शुल्क र भर्ना शुल्क १५ हजार रुपियाँ रहेको छ । स्कुलका प्रधानाध्यापक महेन्द्रकुमार श्रेष्ठले छात्रवृत्ति कोष बनाएर जेहेनदार १७ विद्यार्थीलाई वार्षिक पाँच हजारका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । शिक्षकलाई पनि बेला बेला आवश्यक पर्ने तालिम दिइँदै आएको छ । यहाँ माध्यमिक शिक्षा अध्ययन गर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुपाल्चोकलगायतका विद्यार्थी आउने गरेका छन् । निजी स्कुल सरह उच्च गुणस्तरको शिक्षा प्रदान गरिरहेको यसले विद्यार्थीलाई प्रयोगात्मकसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ । आगामी दिनमा अध्यापनको गुणस्तर थप सुधार गरी विद्यार्थी सङ्ख्या बढाउँदै जाने स्कुलको योजना रहेको छ ।
त्यस्तै बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय, चन्द्रागिरी नगरपालिका–१३ मा रहेको कङ्कालिनी माध्यमिक विद्यालय, थानकोटस्थित मङ्गलोदय माध्यमिक विद्यालय, पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय, बालुवाटारस्थित शिवपुरी माध्यमिक विद्यालय, बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय पनि विद्यार्थीको रोजाइमा रहेका सामुदायिक विद्यालय हुन् ।