• २२ असार २०८२, आइतबार

ओझेलमा परेका समकालीन

blog

योगमायाको समाज सुधारको आन्दोलनका बारेमा आजसम्म भएका सबै खोज अनुसन्धान र पैरवीहरू केही सामाजिक अभियन्ता तथा लेखक पत्रकारका निजी प्रयास हुन् । योगमायाको आन्दोलन, उनको भूमिका र योगदानका बारेमा सङ्गठित, व्यवस्थित वा विधिसम्मत अध्ययन तथा अभिलेखीकरण हुन सकेको छैन । सरकारी निकाय, विश्वविद्यालय वा निजी क्षेत्रबाट सङ्गठित प्रयास भएका छैनन् । सीमित पूर्वप्रकाशित दस्ताबेज, उनका समकालीन र परिवारसँग सम्बन्धित व्यक्तिको कुराकानीका आधारमा योगमायाको विद्रोह, बलिदान र भूमिकाको इतिहास स्थापित गरिएको हो । यसैका आधारमा अहिले योगमायाका नाममा नेपाल सरकारले हुलाक टिकट प्रकाशित गरेको छ । 

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय स्थापना तथा सञ्चालनको औपचारिक प्रक्रिया सुरु हुँदै छ । उनका नाममा विभिन्न संस्था र पुरस्कार स्थापना भएका छन् । केही जिल्लामा सडकको नामाकारण र सालिक बनेका छन् । विद्यालयस्तरदेखि विश्वविद्यालयका पाठ्य सामग्रीमा उनको जीवनी समावेश हुन थालेको छ । अबका दिनमा विश्वविद्यालयका तर्फबाट पनि प्राज्ञिक, वैज्ञानिक अध्ययन हुने छ । यस्ता प्रयास आपसी समन्वय तथा मित्रवत् वातावरणमा हुनसके योगमायाको सम्मान, मूल्याङ्कन र अपेक्षित परिणाम सहज हुन सक्छ । 

योगमाया अर्थात् योगमाया न्यौपानेले उठाएका सामाजिक जागरणका मुद्दा हुन्– जातपातको भेदभाव, धनी र गरिबबिचको असमानता, साहुमहाजनको थिचोमिचो, महिलाप्रतिको असमानता, राजा–महाराजाको लापरबाही, कर्मचारीको ढिलासुस्ती, घुसखोरी आदिको अन्त्य र गाईवस्तु तथा प्रकृति–वनस्पतिको संरक्षण आदि । तत्कालीन सरकारले उनका माग पूरा गरेर ‘धर्म राज्य स्थापना’ गर्ने आश्वासन त दियो तर त्यो पूरा गर्ने तत्परता नदेखाएका कारण विसं १९९५ मा योगमयासमेत २४० जनाले अग्नि प्रवेश गरेर आत्मादाह गर्ने घोषणा गरेका थिए । 

सरकारले उनीहरूको योजना थाहा पाएर अग्नि प्रवेश गर्नुपहिले नै योगमायासमेत १७ जनालाई पक्राउ गरेर छ महिनादेखि तीन वर्षसम्म कैद ग¥यो । पक्राउ पर्नेहरूमा ११ जना पुरुष र छ जना महिला थिए । कैदबाट छुटेपछि पनि उनीहरूले सरकारलाई घचघच्याइ रहे । सरकारले एकपछि अर्को आश्वासन दिएर माग पूरा नगरेका कारणले उनीहरूमा आक्रोश र निराशा बढ्दै गयो । अधर्मी राजमा बाँच्नु व्यर्थ छ, सरकारलाई पनि चेताउनु पर्छ, आउने पुस्ताको उद्धार हुन्छ र आफूलाई मुक्ति मिल्छ भन्ने सङ्कल्प गर्दै योगमायासमेत ६८ जनाले १९९८ साल असार २२ गते हरिशयनी एकादशीका दिन अरुण नदीको भेलमा हाम फालेर देह त्याग गरे । आठ दशक पहिलेको यस घटनाको पृष्ठभूमिमा जोडिएर योगमायाको नेतृत्व, उनको भूमिका र योगदानको बारेमा चर्चा हुने गरेको छ । उनका समकालीन अन्य व्यक्तिको नेतृत्व र भूमिकाको बारेमा कमै खोजिनीति भएको छ ।

 यसो त इतिहास जित्नेहरू वा शासकको मात्र लेखिन्छ भनिन्छ र हुने गरेको पनि यस्तै छ । योगमायाकै पर्याप्त अभिलेख नरहेको समयमा उनका समकालीन र अनुयायीका बारेमा नखोजिनु र नलेखिनु स्वाभाविक लाग्न सक्छ । समाज रूपान्तरणका लागि हिजोदेखि आजसम्म भएका सबै सत्प्रयास सामूहिक ज्ञान, बल, र प्रयत्नमा भएका थिए भनेर हामीले बिर्सनु हुँदैन । तिनको उत्खनन र श्रेयमा एकल नायकत्वलाई मात्र केन्द्रमा राखिने परम्परा छ । समुदायका हितका लागि समुदायको सहभागिता र तिनको नेतृत्व बाहिर बसेर भएका आन्दोलनको परिणामले लक्षित समुदायको भावना प्रतिविम्बित हुन सक्दैन । त्यो समुदायले परिणामको अपनत्व लिन र लाभान्वित हुन सक्दैन । त्यसैले लक्षित समुदायको भावना समेट्न र अपेक्षित लाभ लिन त्यो समुदायको सहभागिता र सामूहिक नेतृत्व आवश्यक हुन्छ । जस–अपजसको भागिदार र भूमिका अनुसारको कृतित्व सबैको लेखिनु पर्छ । सबैको सम्मानजनक गणना गरिनु पर्छ । 

योगमायाको आन्दोलनसँग प्रत्यक्ष जोडिएका समकालीनमा मुख्य भूमिकामा रहेका व्यक्तित्व थिए – पण्डित प्रेम नारायण भण्डारी । उनलाई स्वामी वा डण्डी स्वामी पनि भनिन्थ्यो । योगमायाको शिष्यका रूपमा रहेका प्रेमनारायणको भूमिका मुख्य सल्लाहकारका रूपमा थियो । काठमाडौंका भजन मण्डलीहरूसँग परिचित प्रेमनारायणले योगमायाका दूतका रूपमा राणा प्रधानमन्त्रीलाई पटक पटक भेटेका थिए । योगमायाको सन्देशको आदानप्रदान तथा आन्दोलनका मागको बारेमा प्रधानमन्त्रीलाई जाहेर गरेका थिए । नेपालका र भारतका धार्मिक तीर्थस्थलमा घुमेका प्रेमनारायण शिक्षित पनि थिए । ‘सर्वार्थ योगवाणी’ योगमायाकी छोरी नैनकलाले आफ्नी आमाबाट बर्सौंपहिले वाचन गर्दा सुनेर स्मरण गरेको आधारमा पुनः वाचन गरेर प्रेमनारायणलाई सुनाएको र उनले बाँसको कलमले नेपाली पहाडे कागजमा लेखिदिएका थिए । प्रेमनारायणका पनि नीति शिक्षा र भजनमा आधारित ‘तपोभूमि महात्म्य’ र ‘सत्यार्थ स्वर्गारोहण’ दुई काव्य कृति प्रकाशित छन् ।

योगमायाको समयमा उनको विद्रोहलाई उनका अनुयायी वा चेलाका रूपमा मात्र नभएर अन्य विभिन्न भूमिकामा सहयोग गर्नेहरूमा स्थानीय बस्नेत परिवारका सदस्य धेरै थिए । पारिवारिक नाता तथा अभिभावक र संरक्षक वा आश्रितका नाताले न्यौपाने र भण्डारी परिवारका सदस्य थिए । अग्नि समाधिको घोषणाका कारण कैद सजाय पाउनेहरू, जलसमाधि जानेहरूको पनि विस्तृत खोजी हुनु पर्छ । सानी हजुर गङ्गा न्यौपाने, नैनकला, दुखुना न्यौपाने, रामबहादुर थापा, शिवशक्ति, दुर्गादेवी, काठमाडौँ–काभ्रेका गौतम र तिवारी परिवारका सदस्यलगायत योगमायाका जीवन कालका र पछिका धेरै योद्धा, साधक, अनुयायीको सहभागिता र भूमिकाको बारेमा अभिलेख हुन बाँकी छ । 

योगमायाको सार्वजनिक गतिविधि सुरु हुन पहिलेदेखिका पूर्वी नेपालका सामाजिक जागरणका अगुवा हुन् – बालागुरू षडानन्द (विसं १८९२–१९७३) र महागुरु फाल्गुनन्द लिङ्देन (विसं १९४२–२००५) । यी दुवै व्यक्तित्वको नेतृत्व र भूमिकाको बारेमा इतिहासमा पर्याप्त चर्चा भएको छ । यी सबै सन्दर्भमा चर्चामा नआएका पूर्वी नेपालका अर्का सामाजिक अगुवा हुन् सुबेदार धौलवीर राई ( विसं १९२७–२००९) । महर्षी दयानन्द सरस्वती र गौतम बुद्धका आदर्शबाट प्रेरित ब्रिटिस इन्डियाको सेनाबाट सेवानिवृत राईले २००७ सालको क्रान्तिमा सहयोगी भूमिका निर्वाह गर्नुका साथै शैक्षिक जागरणका अगुवाइ गरेका थिए । जात, धर्म र लिङ्गका आधारमा हुने भेदभाव र अन्धविश्वासी परम्पराका विरोधी सुबेदार राई मानवतावादी दृष्टिकोण राख्थे । भोजपुर जिल्लाको छिनामखुस्थित उनको घरको भित्तामा कुँदिएको बुद्ध र महर्षी सरस्वतीको मूर्ति अझै सुरक्षित छ । 

योगमाया आफ्नो जीवनको मध्यकालमा भारतको असमस्थित फूलबारी गएको, त्यहाँ घरबार गरेको, दुई वटी छोरी जन्माएको र साधना आदि गरेर नेपाल फर्किएकी थिइन्  तर उनी असममै फूलबारी भनिएका चार/पाँच स्थानमध्ये कुन ठाउँमा गएकी थिइन् ? उनले त्यहाँ के गरिन् ? उनको भूमिका र प्रभाव त्यहाँ कस्तो छ अहिलेसम्म कसैको जानकारीमा छैन । उनकी  दुई छोरीमध्ये असममा नै रहेकी बाटुलीका बारेमा योगमायाकै परिवाराका सदस्यलाई थाहा छैन । सरकारले आफ्नो स्रोतसाधनको उपलब्धताले भ्याएसम्म यी सबै प्रकारका अनुत्तरित प्रश्नको उत्तर खोज्न र मौलिक दस्ताबेज तयार गर्नु पर्छ ।

‘सर्वार्थ योगवाणी’ का आधारमा योगमायालाई कवि व्यक्तित्वका रूपमा गणना तथा मूल्याङ्कन गरिन्छ । यसबारे पुनर्मूल्याङ्कन गरिनु र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ । ‘सर्वार्थ योगवाणी’ त्यस बेलाको विद्रोहको अर्थात् योगमायासँग सहकार्य गर्ने तत्कालीन समाज र अगुवा तथा अनुयायी सबैको समान दायित्व रहेको संयुक्त दस्ताबेज हो । उनकी छोरी नैनकलाले वर्षौंपहिलेका कुरा कसरी सुनाइन् ? उनका सहयोगी प्रेमनारायणले लेख्दा र सम्पादन गर्दा कति संशोधन गरे ? यी समग्र अवस्था र प्रक्रियाका आधारमा पनि कृतिको मूल्याङ्कन गरिनु पर्छ । 

समय र विषयका प्राथमिकताका आधारमा हिजो योगमाया र उनका समकालीनले नेतृत्व गरेको त्यो आन्दोलन एउटा शान्तिपूर्ण विद्रोह र सत्याग्रह थियो । त्यति ठुलो सङ्गठित विद्रोहको कल्पना गर्नु सामान्य होइन । कल्पना मात्र होइन कार्यान्वयन गरेर सरकारलाई चुनौती दिन एक वा दुई जनाको मात्र योजनामा सम्भव हुन सक्दैन थियो । आन्दोलनलाई सामूहिक नेतृत्वको उदाहरणका रूपमा लिँदै ओझेलमा परेका योगमायाका समकालीनहरूको अभिलेखीकरण र सम्मानका लागि प्रयास गर्नु पर्छ ।