• ११ साउन २०८२, आइतबार

गाउँमा जङ्गली जनावरको आतङ्क

blog

माईजोगमाई–२, लोसेका किसानको खोरमा चितुवाले मारेको बाख्रा । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन १० गते । इलामको माईजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जङ्गली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ । 

गए राति माईजोगमाई–२, लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउँ बाख्रा मारेको छ । केही दिनअघि पनि लोसेमा तीन वटा बाख्रा चितुवाले खोरमै खाएको यहाँका पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुुभयो । 

यस्तै, गएराति नै माईजोगमाई–२, मुलखर्कका हर्कसिंह राई र माईजोगमाई–२, बिज्जेका गोपाल खड्काको बाख्रालाई चितुवाले मारेको जानकारी आएको छ । पछिल्लो समय चितुवा, बँदेल र बाँदरजस्ता जङ्गली जनावरले दिनहुँजसो घरपालुवा जनावर मार्ने र अन्नबालीमा नोक्सानी गर्न थालेपछि किसानहरू त्रसित भएको स्थानीय सञ्चारकर्मी रोशन काफ्लेले जानकारी दिनुुभयो । 

किसानले लगाएको मकै, आलु, फर्सी, स्कुसजस्ता तरकारी बाली जङ्गली जनावरले खाएर नस्ट गर्ने गरेको स्थानीय किसानको भनाइ छ । स्थानीयहरू एक्लै घाँस, दाउरा गर्न जङ्गल जान र विद्यालय जाने बालबालिकालाई समेत विद्यालय–घर गर्न समस्या हुन थालेको बताइएको छ । 

जङ्गली जनावरको उपद्रो बढेको भए पनि क्षतिको यकिन तथ्याङ्क नभएको इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले बताउनुुभयो । ‘जङ्गली जनावरले दैनिकजसो क्षति गरिरहेकै छन् ।’ चौधरीले भन्नुुभयो, ‘प्रायः घटना भएपछिको जानकारी दिन कोही आउँदैनन् । हामीसँग कुनै यकिन विवरण छैन ।’