• ११ साउन २०८२, आइतबार

नीति र विचारका आधारमा मात्रै कम्युनिस्ट एकता हुनुपर्छः अध्यक्ष प्रचण्ड

blog

काठमाडौँ, साउन १०  गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिस्ट एकता हुनुपर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबिच एकता हुन सक्ने बताउनुभयो । 

“म पनि कम्युनिस्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिस्ट एकता त्यहीँबाट सुरु हुन्छ ।” पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुशरण गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिस्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष  दाहालले भन्नुभयो, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिस्ट विरोधीसँग कसरी एकता हुन्छ रु त्यो त विगतमा देखियो नि ।”

अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिस्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता नटिकेको उल्लेख गर्दै  यसको उत्तर नखोजी एकता हासिल नहुने बताउनुभयो । “आजको अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बिचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबिचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रैले कम्युनिस्ट एकता नहुने उल्लेख गर्दै एकताका लागि सही विचार र नीति आवश्यक रहेको बताउनुभयो । “अबको लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्छ, वैचारिक, राजनीतिक, साङ्गठनिक पुनः गठन आवश्यक छ, बलियो कम्युनिस्ट पार्टीले मात्रै मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्न सक्छु”, नेता खनालले भन्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता खनाललगायतले लेखक लोककृष्ण भट्टराईको पुस्तक ‘निर्वासन’ लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै एमाले नेता कैलाश ढुङ्गेलले पुष्पलालको सम्पूर्ण जीवनचक्र पुस्तकमा समेटिएको बताउनुभयो । रासस