हरिकृष्ण शर्मा
मुस्ताङ, साउन २२ गते । नेपाली सेनाले २४ वर्षदेखि प्रयोग गर्दै आएको मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रको करिब २० रोपानी जग्गा फिर्ता गरेको छ ।
शीतोष्ण बागवानी विकास केन्द्रको अनुरोधमा जोमसोमस्थित इन्द्र बक्स गढले १९.२ रोपनी जग्गा प्रमुख सेनानी मोहनकुमार थापाले केन्द्रका प्रमुख पद्मनाथ आत्रेयलाई हस्तान्तरण गर्नुभएको छ ।
तत्कालीन समयमा माओवादीको अति प्रभावित जिल्लामा पर्ने छिमेकी म्याग्दीबाट मुस्ताङमा माओवादी प्रवेश गर्न थालेपछि सुरक्षा पोष्टका लागि वि.सं २०५८ सालमा सुरक्षा पोस्ट राखिएको थियो । नेपाली सेनाले गत असार १३ गते लिखित रुपमा सहमति गरेको थियो ।
केन्द्रका प्रमुख आत्रेयले सेनाले फिर्ता गरेको जमिन नर्सरीका लागि उपयुक्त भएकाले अब स्याउसहित विभिन्न प्रजातिका फलफुलको नर्सरी विस्तार गरिने बताउनुभयो । केन्द्र प्रमुख आत्रेयले भन्नुभयो, ‘‘नेपाली सेनालाई हार्दिक अभार प्रकट गर्छौैं, यो क्षेत्रको हावापानीमा तयाार गरिने बिरुवा तल्लो क्षेत्रमा खपत गर्न सहज हुनेछ ।’’ केन्द्र प्रमुख आत्रेयका अनुसार नेपाली सेनाले फिर्ता गरेसँगै केन्द्रबाट उत्पादित हुने स्याउसहित अन्य प्रजातिका बिरूवामा अहिलेभन्दा ३० हजारभन्दा बढी उत्पादन हुन्छ । बागवानी केन्द्रको चारवटा ब्लकमा ३५ प्रजातिका स्याउको बिरुवा उत्पादन हुन्छ ।
केन्द्रले उपल्लो मुस्ताङमा ताङ्वे, याराघारालगायतका क्षेत्रमा स्याउ खेती हुन थालेपछि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को घमी गाउँमा स्याटलाइट कृषि फार्म स्थापनाको अन्तिम तयारी गरेको छ ।
केन्द्रका प्रमुख आत्रेयले हुने स्याउ जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा समेत हुन थालेपछि दुई गाउँपालिकाका कृषकलाई लक्षित गरी आठ सय एक रोपनी जग्गा केन्द्रको नाममा ल्याएर शाखा स्थापना गर्न लागिएको बताउनुभयो । मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा स्याउसहित विभिन्न फलफुल उत्पादन हुन्छ । केन्द्रले आगामी आवदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को घमी गाउँमा स्याटलाइट कृषि फार्म स्थापनाका लागि आठ सय एक रोपनी जग्गा केन्द्रको नाममा ल्याएर शाखा स्थापना गर्ने तयारी गरेको छ ।