• २२ असार २०८२, आइतबार

धान खेतमा चिरा पर्‍यो

blog

बुटवल समाचारदाता

बुटवल, असार २२ गते । रुपन्देहीमा धेरै दिनदेखि ठुलो पानी नपर्दा रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको छ । असार पहिलो साता ठुलो पानी परे पनि त्यसयता ठुलो पानी परेको छैन । पहिलो साता परेको पानीमा रोपाइँ गरेका किसानको खेत अहिले पानी नपरेकै कारण चिरा पर्न थालेको छ ।  

रुपन्देहीको सैनामैना, कञ्चन, गैडहवा, सियारी, शुद्धोदनलगायतका पालिकाका किसानले पानीको अभावमा रोपाइँ गर्नै समस्या भएको बताएका छन् । पानीको जोहो गरेर रोपाइँ गरिएको खेतसमेत लामो समय खडेरी पर्दा चिरा पर्न थालेको किसानको भनाइ छ । 

रुपन्देहीको कञ्चन–१, लौसाका रामऔतार चौधरीले असार पहिलो साता परेको ठुलो पानीले केही दिन राहत दिए पनि त्यसयता पानी नपर्दा नदी, तलाउ र कुलोमा जम्मा भएको पानीले रोपाइँ गरेको बताउनुभयो । 

रुपन्देहीको कुल ६५ हजार हेक्टर खेतमा रोपाइँ हुने गरेको छ तर जम्मा १५ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी अनिलकुमार कानु बानियाँले यस वर्ष असार २० सम्ममा करिब ५५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाको सिँचाइ सहज भएको उत्तरी क्षेत्रमा रोपाइँ करिब करिब सम्पन्न भए पनि दक्षिण क्षेत्रमा भने पानीको अभावले रोपाइँमा समस्या भएको छ । 

सियारी गाउँपालिकाको छपियाका कृष्णप्रसाद पराजुलीले माछापोखरीको पानी प्रयोग गरी रोपाइँ गरे पनि अहिले पानी नपर्दा समस्या भएको बताउनुभयो । उहाँले रुपन्देहीमा छिटफुट वर्षा भए पनि रोपाइँलाई पुग्ने गरी वर्षा नभएको दुई साताभन्दा बढी भएको बताउनुभयो । यस वर्ष रुपन्देहीमा जेठको दोस्रो सातादेखि नै वर्षा भएकाले किसानले ब्याड चाँडै राखेका थिए ।