• २२ असार २०८२, आइतबार

प्रेरक व्यक्तित्व

blog

आजभन्दा १५८ वर्षअघि भोजपुर जिल्लाको मझुवाबेँसीमा जन्मिएकी योगमाया नेपालको नारी जागरणका साथै धार्मिक, सामाजिक र साहित्यिक क्षेत्रकी ख्यातिप्राप्त व्यक्तित्व हुन् । योगमाया कौडिण्य गोत्र र न्यौपाने थर भएका ब्राह्मण परिवारका श्रीलाल र चन्द्रकला न्यौपानेकी छोरी हुन् । उनको नाममा स्थापित संस्था ‘योगमाया प्रतिष्ठान’ का अनुसार योगमायाको जन्म विसं १९२४ भएको हो । उनले विसं १९९८ असार २२ गते शनिबार हरिशयनी एकादशीका दिन आफ्ना ६८ जना अनुयायी भक्तसहित अरुण नदी किनाराको ठुलो ढुङ्गाबाट हाम फालेर जलसमाधि लिएकी थिइन् । यसरी योगमायाको जन्म आजभन्दा १५८ वर्षपहिले भएको र जम्मा ७४ वर्ष यस धर्तीमा बिताएको देखिन्छ । 

योगमायालाई विदुषी योगमायाका नामले चिनिन्छ । औपचारिक शिक्षा नलिएका कारण योगमाया हस्ताक्षरका सट्टा बुढी औँठाको ल्याप्चे प्रयोग गर्थिन् । जे देख्यो र जे सुन्यो, त्यस विषयमा कविता रच्न सक्ने साथै कवितामै कुरा गर्न सक्ने अनौठो क्षमता उनमा थियो । त्यसैले उनी आँसु कवयित्री मानिन्छिन् । योगमायाको जन्म समयमा नेपालमा जहानियाँ  थियो । सती र दासप्रथा जस्ता सामाजिक कुरीतिका साथै धार्मिक आडमा हुने सामाजिक शोषण चरमोत्कर्षमा थियो । शासनसत्तामा भ्रष्टाचार र मनपरीतन्त्र व्याप्त थियो । गाउँघरमा मानापाथी जस्ता बरव्यवहारमा समेत ठगी गर्ने प्रवृत्ति व्यापक थियो । यिनै सामाजिक विडम्बना र भोगाइहरूलाई आत्मसात् गर्दै योगमायाको जीवनयात्रा गतिशील बन्यो ।

योगमाया त्यस्तो समयमा जन्मेकी थिइन्, जुन बेला नारीहरू रजस्वला हुनुअघि नै वैवाहिक बन्धनमा बाँधिन बाध्य हुनुपथ्र्यो । त्यसै अनुरूप उनका आमाबुबाले योगमायाको विवाह पाँच वर्षकै उमेरमा रामहरि कोइरालासँग गरिदिएका थिए । बिहे भएको दुई वर्षमै उनका पतिको निधन भयो । सात वर्षीया अबोध बालिका योगमायाका लागि रामहरिको मरण कुनै पीडादायक विषय बन्न सकेन । उनी आफ्नै बालक्रिडामा व्यस्त रहिन् । क्रमशः दिन बित्दै जाँदा योगमायामाथि अनेक सामाजिक कुसंस्कारका बज्र प्रहार हुन थाले । तत्कालीन समाजबाट प्राप्त अपमान, घृणा र तिरस्कारका पीडाले उनको जीवन तरङ्गित हुन पुग्यो ।

 अभावबिच खान लगाउन मुस्किल भएपछि अबोध बालिका योगमाया एक रात घरबाट सुटुक्क भागेर माइत आइन् । घरबाट नसोधीकनै भागी हिँडेकी उनलाई माइती पक्षले सजिलै बस्न दिने कुरा भएन । माइती पक्ष योगमायालाई उनकै घर फर्काउन चाहन्थ्यो भने घरपक्षका रातको समयमा भागी हिँडेकी बुहारीलाई कुनै हालतमा घरभित्र पस्न नदिने मनस्थितिमा थिए । यस्तो असहज द्वन्द्वको स्थितिमा विधवा योगमाया केही समय माइतीकै आश्रयमा रहिन् । घर र माइत दुवैतिर अलच्छिनी र पोइ टोकुवीको लाञ्छना सहँदै उनी १७ वर्षकी भइन् । समय बित्दै जाँदा त्यसै गाउँका एक युवक प्रजापति डोटेल जैसीतिर उनको आकर्षण बढ्यो र उनीहरू भागेर आसाम पुगे । यी दम्पतीबाट एउटी छोरी नैनकलाको जन्म भयो । कतिपय अनुसन्धाताले डोटेल युवकको समेत केही वर्षपछि मृत्यु भएको र तत्पश्चात् योगमायाले तेस्रो विवाह गरेको बताएका छन् । यसको ठोस प्रमाण नभएकाले यो प्रसङ्ग विवादित प्रतीत हुन्छ । 

आसाममै रहँदा योगमायाले आफ्नो गाउँमा पुराणवाचन हुन लागेको हल्ला सुनिन् । त्यसपछि डोटेल दम्पती छोरी च्यापेर पुराणस्थल पुगे । जनकलाल शर्माको ‘जोसमनी सन्तपरम्परा र नेपाली साहित्य’ नामक पुस्तकमा लेखिए अनुसार पुराणको प्रसङ्ग थियो, “परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरव नरकको यातना भोग्नु पर्छ ।” यत्तिकैमा पुराणमा अर्को प्रसङ्ग आयो– “कसैले अज्ञानवश त्यस्तो अपराध गरेको रहेछ र ज्ञानप्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ ।” योगमायाले पुराणका सबै पाठ मन दिएर सुनिन् । पुराणको कथा सुनेपछि योगमायाको मन विचलित भयो । त्यसपछि उनले आफ्ना पति प्रजापति डोटेलसँग यसबारे छलफल गरिन् । अनि यिनीहरूले एकअर्कासँग छुट्टिएर बस्ने निर्णय गरे । भनिन्छ, त्यसबेला योगमायाकी छोरी नैनकलाचाहिँ योगमायासँगै बस्ने सहमति भयो ।

योगमायाले औपचारिक शिक्षा लिने अवसर नपाएकी भए पनि साधुसन्त र विभिन्न व्यक्तिसँगको सङ्गत साथै पुराण प्रवचन सुन्दै जाँदा उनमा नवीन चेतनाको विकास हुँदै गएको र उनीभित्रको अन्तज्र्ञान प्रस्फुटित भएको अनुमान गर्न सकिन्छ । यही अन्तज्र्ञानको विकाससँगै भारतको आसामबाट केही गर्ने मनसायका साथ उनी आफ्नै जन्मथलो मझुवाबेँसीमा फर्केर आइन् । माइतीघरमा फर्केपछि उनीभित्रको ज्ञानबुभुक्षा झनै प्रबल बन्न पुग्यो । ज्ञानको भोककै कारण उनी जोसमनी सन्तहरूको सङ्गतमा परिन् र उनीहरूको सहयोगमा प्युठानस्थित स्वर्गद्वारी महाप्रभुको आश्रममा पुगिन् । केही समय त्यहीँ रहेर उनले महाप्रभुबाट दीक्षासमेत ग्रहण गरिन् र पछि आफ्नो जन्मथलोमै फर्किन् ।

आधुनिक नारीवादी अभियन्ता योगमायालाई पितृसत्ताविरुद्धको विद्रोहकी प्रतीक मान्छन् । खासमा योगमायाले मा व्याप्त अन्याय र सामाजिक अन्धविश्वासका साथै आडम्बरको आडमा चलेका सतीप्रथा, बालविवाह र विधवामाथिको अत्याचार, जातिप्रथा एवं शोषणविरुद्ध आवाज उठाएकी हुन् । सामाजिक परिपाटीमा आमूल परिवर्तनका लागि नै योगमायाले आत्मबलिदान गरेकी हुन् । योगमायाले बालविवाहको विरोध गर्दै विधवाले पनि पुनर्विवाह गर्न पाउनुपर्ने आवाज बुलन्द गरिन् । सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक पक्षसँग जोडिएका कुरीति, कुसंस्कार र कुचलनविरुद्ध चेतना फैलाउनुका साथै प्रवचन र कविताका माध्यमबाट समेत विरोधका स्वर उचालिन् । यही विरोध कालान्तरमा गएर आत्मोत्सर्ग जस्तो उच्चस्तरको विद्रोहमा परिणत भयो । 

वस्तुतः योगमायाको आत्मोत्सर्ग क्रूरता र अमानवीयताविरुद्धको तिखो असहमति वा भनौँ मानवीय आध्यात्मिक करुणाभावको उत्कृष्ट अभिव्यक्ति थियो । निश्चितै रूपमा आध्यात्मिक प्रज्ञासम्पन्न सन्तहरूको हृदय समाजका अन्याय, अत्याचार र कुरीति देखेर पग्लिने गर्छ । त्यसबाट द्रवित बनेर उनीहरू आफ्नो समग्र जीवनलाई मानवकल्याणको यात्रामा समर्पित गरिदिन्छन् । यही कुरा योगमायाका सन्दर्भमा लागु हुन्छ । पूर्वीय भूगोलमा जन्मेका महात्मा गौतम बुद्ध, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, महात्मा गान्धी, योगी नरहरिनाथ जस्ता दर्जनौँ सन्तहरू जस्तै योगमाया पनि आध्यात्मिक अनुभूतिका आधारमा समाजसुधारका लागि समर्पित प्रबुद्ध व्यक्तित्व हुन् । उनलाई धर्मराज्यकी परिकल्पनाकार साथै साहस र उच्च चेतनाकी प्रतिमूर्ति महान् समाजसुधारक नारीका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । तसर्थ अमुक वादको पक्ष लिएर अमुक सत्ताविरुद्ध उभिएको भनेर उनको मूल्याङ्कन गर्नु सङ्कीर्ण दृष्टिकोण ठहरिन सक्छ । आजभन्दा १५० वर्ष पहिलेको समाजमा जन्मेकी एक जना निरक्षर महिलामा यस्तो उच्च चेतनाको विकास हुनु आत्मजागरण र गहिरो आध्यात्मिक अनुभूतिबिना असम्भव छ । 

व्याप्त अन्धविश्वास र रूढिग्रस्त कट्टरताकी विरोधी भए पनि योगमायाको मूल संस्कार ईश्वरप्रतिको आस्था र भक्तिभावद्वारा निर्मित थियो । उच्च आध्यात्मिक चेतना भएका पुरुषले समेत यस्ता प्रथाविरुद्ध आवाज उठाउँदै आएको सन्दर्भमा उनको यो विद्रोहलाई पितृसत्ता र मातृसत्ताको आधुनिक अवधारणाको दृष्टिबाट पर्गेल्न खोज्नु त्यति सान्दर्भिक ठहरिँदैन ।