• २२ असार २०८२, आइतबार

कानुन व्यवसायीलाई फौजदारी कानुनसम्बन्धी २१ कक्षा

blog

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजय प्रसाद मिश्र । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असार २२ गते ।
नेपाल बार काउन्सिलको आयोजनामा बागलुङ बजारमा सञ्चालित एक साता लामो फौजदारी कानुन विषयक तालिम सकिएको छ । असार १६ गतेदेखि सुरु भएको तालिममा साविकको धौलागिरि क्षेत्रका चालिस कानुन व्यवसायीलाई २१ वटा कक्षा सञ्चालन भएको थियो ।

साइबर अपराध, लागुऔषध ओसारपसार र भण्डारन, जबरजस्ती करणीसम्बन्धी कसुर र सजाए, भ्रष्टाचारसम्बन्धी अपराध, मानव बेचबिखन तथा ओसारपसार, आत्महत्या दुरुत्साहन, गैरकानुनी हत्या, पक्राउ पुर्जी र अभियोग पत्र, अर्पुण अपराध, अपराध र आपराधिक दायित्व, सम्पत्ति शुद्धिकरण सङ्गठित अपराध र बैंकिङ कसुर लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।

महान्यायाधिवक्ता रमेश बडालले उद्घाटन गर्नुभएको कार्यक्रममा हरेक दिन वरिष्ठ अधिवक्ता, न्यायाधिस र विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो ।

शनिबार तालिम समापनमा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजय प्रसाद मिश्रले नागरिकले न्याय पाएको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिनुभयो । मिश्रले फौजदारी न्यायका सर्वमान्य सिद्धान्तको अधिकतम उपयोग गर्ने र नागरिकले न्याय पाएको अनुभूति दिलाउने काम कानुन व्यवसायीको भएको बताउनुभयो ।

उहाँले त्यसका लागि अनुसन्धानमा प्रहरीले, अभियोजनमा सरकारी वकिल र न्याय दिने काममा अदालतले पर्याप्त गृहकार्य गर्नुपर्ने बताउनुभयो । ‘‘छिटो काम सक्ने निहुँमा जनताले न्याय मरेको अनुभव गर्ने अबस्था आउन हुँदैन’’ मिश्रले भन्नुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएनका उपाध्यक्ष भूपेन्द्र खनाल, बार काउन्सिलका केन्द्रीय पार्षद दयाराम गौतमले कानुन व्यवसायीको क्षमता विकास भएमा जनताले न्याय पाउने बताउँदै त्यसका लागि दक्षता वृद्धिमै साथ दिने बताउनुभयो ।