• १४ वैशाख २०८१, शुक्रबार

दीपक र अरहन्त फाइनलमा

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, साउन २५ गते । चीनमा हुने आसन्न १९औँ एसियाली खेलकुदमा चयन हुनुभएका अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पराजित हुनुभएको छ । 

बिहीबार भएको खेलमा आमिरलाई दीपक थापाले पाँच सेटको खेलमा २–११, ११–९, ११–७, १०–१२, १०–१२ ले स्तब्ध पार्नुभयो । दीपकले फाइनलमा उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिंहसँग खेल्नुहुनेछ । अर्को सेमिफाइनलमा अरहन्तले उमित शाक्यलाई ११–१, ११–३, ११–८ ले सजिलै पराजित गर्नुभयो ।

यसैगरी प्लेट च्याम्पियन्सीपमा पासाङ लामा र विनायक श्रेष्ठबिच उपाधि भिडन्त हुने भएको छ । यस विधाको सेमिफाइनलमा पासाङले अनिल बज्राचार्यलाई ११–८, ११–४, ११–६ तथा विनायकले रिद्धि शाक्यलाई ११–६, ३–११, ११–७, ११–३ ले हराउनुभयो ।

यसैगरी, बिहीबार बिहानसम्मको  महिला एकलको तालिकामा कृष्णा थापा तीनै खेल जितेर फाइनलका सङ्घारमा पुग्नुभएको छ । कृष्णाले पहिलो चरणमा भावना सुनुवारलाई ३–०, दोस्रो चरणमा स्वस्थानी श्रेष्ठलाई ३–१ र तेस्रो चरणमा अस्मिता नगरकोटीलाई ३–० ले हराउनुभएको थियो ।

राष्ट्रिय च्याम्पियन बिपना ब्लोन पनि आफूले खेलेका दुवै खेलमा जित हात पार्नुभएको छ । उहाँले पहिलो चरणमा भावना सुनुवार र दोस्रो चरणमा अस्मिता नगरकोटीलाई समान ३–० ले सोझो सेटमा पराजित गर्नुभएको हो ।

स्वस्थानी श्रेष्ठले दुई खेलमध्ये एक जित र एक हारमा खेल्नुभएको छ । कृष्णासँग हारेपछि उहाँले अस्मितालाई ३–० ले सोझो सेटमा हराएर फाइनलमा पुग्ने झिनो सम्भावनालाई कायम राख्नुभएको थियो । अस्मिताले तीन खेल हार्नुभएको छ । 

पाँच खेलाडीमात्र सामेल महिला एकलमा राउनरोविन्डको आधारमा प्रतिस्पर्धा हुँदैछ । जसमध्ये शीर्ष दुई स्थानमा रहने खेलाडीबिच फाइनल हुनेछ ।