• २४ वैशाख २०८१, सोमबार

हिलो र धुलोमुक्त नगर बनाउँछौँ

blog

सिराहा जिल्लाको सदरमुकाम रहेको सिराहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिराहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग किलोमिटर रहेको छ । दक्षिणमा भारतीय सीमासँग जोडिएको यस नगरपालिकाको उत्तरमा विष्णुपुर गाउँपालिका र कल्याणपुर नगरपालिका पर्दछ भने पूर्वमा औरही र अर्नमा गाउँपालिका जोडिएको छ । पश्चिममा सिराहा र धनुषाको सिमाना रहेको कमला नदी पर्दछ । दोस्रो पटकको प्रयासमा सिराहा नगरपालिकाका नगर प्रमुख हुनुभएका नवीनकुमार यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :

निर्वाचन सम्पन्न भएको दुई वर्ष बित्नै लाग्यो । यस अवधिमा कुन कार्यलाई प्राथमिकता दिनुभयो ? 

२०७४ सालमा पहिलो पटक नगर प्रमुखमा उम्मेदवार हुँदा १७४ मतले पराजित भएको थिएँ । पराजित भए पनि यहाँको विकास निर्माण, सामाजिक न्यायलगायत जनताको दुःख सुखमा साथ रहेँ । २०७९ को निर्वाचनमा जनताले विजयी गराएपछि अस्तव्यस्त रहेको सडक निर्माण कार्यलाई प्राथमिकता राखेर विकासलाई गति दिएका छौँ । सिराहा नगरपालिकाको २२ वटै वडामा १०० किलोमिटर पक्की सडक निर्माण गरिसकेका छाँै । यद्यपि अहिले पनि सडक निर्माणको कार्य पूरा भइसकेको छैन । आफ्नो कार्यकालमा हिलो र धुलोमुक्त सिराहा नगरपालिका बनाइ छाड्ने कार्यमा दृढ सङ्कल्पित भएर अगाडि बढिरहेका छौँ ।

तपाइँ चिकित्सक पेसा छाडेर राजनीतिमा प्रवेश गर्नुभयो । स्वास्थ्य क्षेत्रको विकासलाई कति महत्त्व दिनुभएको छ ?

म एक बालरोग विशेषज्ञ चिकित्सकका रूपमा स्थापित थिएँ । मेरो पिता तत्कालीन सिराहा–३ बाट प्रतिनिधि सभामा नेकपा एमालेबाट निर्वाचित सांसद हेमनारायण यादवको हत्यापश्चात् जनताले मलाई राजनीतिमा तानेपछि केवल समाजसेवाको उद्देश्य लिएर म राजनीतिमा लागेको छु । स्वास्थ्य क्षेत्रको विकासका लागि सिराहामा रहेको प्रादेशिक अस्पतालको सेवा विस्तारका लागि प्रयास गरिरहेका छौँ । यसमा मधेश प्रदेश सरकारको पनि सहयोग रहेको छ । अहिले अस्पतालले गरिरहेको सेवाबाट यहाँका जनताले राम्रो सेवा पाइरहेका छन् । नगरमा १२ वटा स्वास्थ्य चौकी र आठ वटा आधारभूत अस्पतालमा आवश्यक पूर्वाधार, निर्माण र प्रभावकारी सेवाका लागि बजेट विनियोजन गरेर व्यवस्थित गर्न लागेका छौँ । म स्वयं केही समय छुट्याएर विपन्न गरिब दलितहरूका लागि निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेको छु । 

नगरपालिकाको भारतीय सीमासम्मको सात किलोमिटर सडक विस्तार गर्दा यहाँले के कस्ता चुनौती सामना गर्नुभयो ? 

सात किलोमिटर सडक विस्तार गर्दा निकै चुनौती आए । सडक क्षेत्रमा पर्ने पक्की घर भत्काउँदा स्थानीयबाट सर्वोच्च अदालतसम्म मुद्दा प¥यो । अदालती र कानुनी लफडा आएपछि सडक विस्तारका लागि कठिनाइ उत्पन्न भए पनि स्थानीय विकासप्रेमी जनतालाई साथमा लिएर फराकिलो बनाउने कार्यमा सफल भएका छौँ । त्यतिबेला अवरोध गर्नेहरू अहिले राम्रै काम भएको रहेछ भन्न थालेपछि गौरवान्भूति भइरहेको छ । 

तपाइँको हालसम्मको कार्यकालमा शिक्षा क्षेत्रको विकासका लागि के के गर्नुभयो ? 

सिराहा नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १५ वटा माध्यमिक विद्यालय रहेका छन् । उपत्यकाबाहिर विसं १९७२ मा सिराहा सदरमुकाममा स्थापित चन्द्र माध्यमिक विद्यालय पनि यहीँ छ । नगर प्रमुख निर्वाचित हुनुभन्दाअगाडि नै त्यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर प्राविधिक धारसहित नमुना विद्यालय बनाइसकको थिएँ । नगर प्रमुख भएपछि यस विद्यालयलाई प्रदेशकै सुविधा सम्पन्न विद्यालय बनाउन लागेका छौँ । शैक्षिक विकृतिहरू हटाउन, पाठ्यपुस्तकमा एक रूपता ल्याउन, विद्यालयका भौतिक र शैक्षिक विकासका लागि अघि अघि बजेट पछि पछि अनुगमन, विद्यार्थीलाई खाजामा पौष्टिक आहार र पोसाक उपलब्ध गराउनुका साथै निःशुल्क कोचिङ कक्षा र कम्प्युटर कक्षाको व्यवस्था गरेका छौँ । 

कृषि क्षेत्रमा किसानलाई राहत हुने कार्यमा कत्तिको ध्यान दिनुभएको छ ? 

सिराहा नगरपालिकाको डेढ दर्जन वडा कृषक बाहुल्य वडा नै छन् । किसानले उन्नत जातको बिउ नपाएर र समयमा मलखाद उपलब्ध नहुँदा खेतीपातीमा निराशा छाएको छ । उनीहरूलाई बिउ र मलखाद सहज ढङ्गबाट उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ । सिँचाइका लागि खेत खेतमा हाते कलको योजना अगाडि बढिरहेको छ । दुई सय ठुलो बोरिङको व्यवस्था गर्ने योजनामा छौँ । कृषि मिटरको महसुल नगरपालिकाबाट बुझाउन गृहकार्य कृषि शाखाले गरिरहेको छ । कृषकले उत्पादन गरेका तरकारी आफ्नै ठाउँमा बिव्रmी गर्न सकून् भन्ने उद्देश्यले स्थानीय हाटबजार प्रवर्धनतर्फ पनि ध्यान दिएका छौँ । 

सहरी विकासका लागि आएको बजेट सहरी क्षेत्रको विकासमा कति प्रभावकारिता देखिएको छ ? 

भारतीय सीमासँग जोडिएकाले सदरमुकामको विकासका लागि आउने बजेट दुई वर्षदेखि आउन बन्द भएको छ । विगतमा यस बजेटले राम्रै काम भएको थियो । पुनः सहरी क्षेत्रको बजेट ल्याउन सङ्घीय सरकारसँग पत्राचार गरिरहेका छौँ । सिराहाका सहरी क्षेत्रमा नाला निर्माण, सरसफाइ र स्वच्छताका लागि नगरपालिकाले आफ्नै बजेटबाट काम थालेर सुन्दर सिराहा कार्यव्रmम अन्तर्गत २२ वटै वडा वृक्षरोपण कार्यलाई निरन्तरता दिएका छौँ । 

सिराहा–७, महिसोथा जहाँ लोकनायक सलहेसको जन्मस्थल रहेको छ । धार्मिक पर्यटकीयस्थलको विकासका लागि के भइरहेको छ ? 

सिराहा नगरपालिकामा सलहेस पर्यटकीय क्षेत्रको विकासका लागि सलहेसको मूर्ति, धर्मशाला निर्माणको कार्य अगाडि बढेको छ । अर्को वर्ष सलहेस मन्दिरमा प्राणप्रतिष्ठा गरेर आन्तरिक र वाह्य पर्यटक भिœयाउने कार्यमा लागेका छौँ । अर्को पर्यटकीयस्थल सारश्वनाथको मन्दिर क्षेत्रभित्र सौन्दर्यीकरण र पार्क निर्माण कार्य अन्तिम चरणमा रहेको छ । 

सुरक्षित आवासको कार्यक्रम कसरी अगाडि बढिरहेको छ ? 

सिराहा नगरपालिकाको २२ वटै वडामा तीन सय घर सुरक्षित आवास अन्तर्गत निर्माण भएको छ । अझै चार सय घर निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौँ । विपन्न समुदायलाई नगरपालिकाबाट आइपर्ने प्राकृतिक विपत्तिबाट जोगाउन नगरपालिकाले प्रभावकारी कार्य गर्दै आइरहेको छ ।