• २३ वैशाख २०८१, आइतबार

केन्यामा बाढीका कारण ३८ को मृत्यु

blog

फाइल तस्विर

नैरोबी, वैशाख १३ गते । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ । बाढीको स्तर आपतकालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ।

पछिल्लो समय अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुगेको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर वासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ । आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए । राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए ।

सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मङ्गmबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् । मार्च–अप्रिल–मेमा वर्षा सुरु भएदेखि नै धेरै काउन्टीले यसको प्रभाव महसुस गरेका छन् । प्रभावित घरपरिवार, विस्थापन, शिविरहरूको स्थापना, डुबानयोग्य जमिन, प्रभावित व्यवसाय र पशुधनको मृत्यु भएको मानवीय एजेन्सीले जनाएको छ ।

केन्या मौसम विज्ञान विभागका अनुसार केन्यामा भारी वर्षा भएको छ भने केही क्षेत्रमा एकै दिनमा दुई सय मिलिमिटरसम्म वर्षा भएको छ । 

वर्षापछि देशभरि बाढी निम्त्याउने चेतावनी दिँदै काउन्टी र राष्ट्रिय सरकार दुवैस्तरका केन्याली अधिकारीहरूले तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई उच्च भूमिमा जान सल्लाह दिएका छन् ।

आन्तरिक तथा राष्ट्रिय प्रशासनका क्याबिनेट सचिव किन्डिकी किथुरेले पूर्वी क्षेत्रको मासिङ्गा र मध्य क्षेत्रको थिबासहित बाँध नजिक बस्ने बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गर्नुभएको छ । थप वर्षाले विपत्ति निम्त्याउने सम्भावना भएकाले बस्तीहरूमा बाढीको प्रभाव बढी हुने उहाँले बताउनुभयो । सरकार उच्च सतर्कतामा रहेको र बहु–एजेन्सी टोलीले कम गर्ने प्रयासमा काम गरिरहेको उहाँको भनाइ छ ।  

इन्टरगभर्मेन्टल अथोरिटी अन डेभलपमेन्ट (आइजिएडी) को क्लाइमेट प्रेडिक्सन एन्ड एप्लिकेसन सेन्टर (आइसिपिएसी) ले जारी गरेको सूचनामा केन्याले असामान्य रूपमा भारी वर्षाको अनुभव गर्ने हर्न अफ अफ्रिकाका देशहरूमध्ये एक भएको जनाएको छ । रासस