• १४ वैशाख २०८१, शुक्रबार

म्युजिक भिडियोको बजार खस्कँदो

blog

काठमाडौँ, साउन ८ गते । झट्ट सोच्दा जोकोहीलाई पनि लाग्न सक्छ, देशमा बजार छ त मात्र म्युजिक भिडियोको तर यो सत्य होइन । म्युजिक भिडियोमा लगानी गर्नेहरू अहिले आफ्नो पैसा उठ्ने कुरामा ढुक्क देखिँदैनन् । आजकल गीत रेकर्डसँगै म्युजिक भिडियो बन्ने गर्छन् । म्युजिक भिडियोमार्फत कलाकारले अभिनयको अवसर मात्र पाउँदैनन् गायक, गायिकाले दर्शक, श्रोतामाझ चिनिने मौकासमेत पाउँछन् तर अहिले म्युजिक भिडियोको बाढी लाग्न थालेपछि यसको लहर केही तल झर्न थालेको छ ।

केही वर्षअघि सङ्गीत कम्पनीबिच कलाकारका लागि अघोषित लिलामी राम्रो चल्थ्यो । कलाकारले  म्युजिक भिडियोलाई व्यापारिक हिसाबले राम्रो माध्यम पनि बनाइरहेका थिए तर अहिले म्युजिक कम्पनीहरू नाम चलेका कलाकारबाट पन्छिन् थालेका छन् ।  आफ्नो न्यूनतम लगानी नै नउठ्ने हो कि भन्ने चिन्ताबाट ग्रसित बन्दै गएको छ, म्युजिक कम्पनी । आजकल नाम चलेका गायक/गायिक आफ्नो नयाँ गीत सुनाउन म्युजिक कम्पनी धाइरहेको भेटिन्छन् । 

सङ्गीतलाई सोखका रूपमा मात्र लिन नहुने गायक युवराज चौलागाईं बताउनुहुन्छ । सङ्गीत भनेको आफ्नो रहर पूरा गर्ने मात्र थलो होइन । सङ्गीतलाई माया ग-यो भने सङ्गीतले पनि हामीलाई माया गर्ने उहाँको भनाइ छ । अहिले राम्रो नराम्रो केही नहेरी म्युजिक भिडियो बनाउने र त्यसमा अभिनय गर्नेको लर्को चलेको छ । जसले गर्दा पनि गीत/सङ्गीत खस्कँदै गएको गायक चौलागाईं बताउनुहुन्छ । पछिल्लो समयलाई केलाउने हो भने नेपाली सङ्गीतमा गीतको बाढी नै आएको छ ।  गीत/सङ्गीतको प्रवर्धनमा म्युजिक भिडियो अनिवार्य सर्त बनेको छ । अझ गीत/सङ्गीत सुन्ने जमात नै बेग्लै छ । एक समय यस्तो पनि थियो दर्शक कलाकारलाई हेर्नका लागि भए पनि म्युजिक भिडियो नछुटाई हेर्ने गर्थे तर अहिले यसको बजार एकदमै घटेको छ ।  धेरै कम मात्रामा नाम चलेका कलाकारको म्युजिक भिडियो बन्ने गरेका छन् । 

सङ्गीत पनि एउटा पर्व झै लाग्न थालेको बताउनुहुन्छ कलाकार सागर लम्साल ‘बले’ । अहिले सङ्गीतको खासै मूल्य छैन । दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएका उहाँ भन्नुहुन्छ, तीज, गाईजात्रा र अरू चाडपर्व भएका बेला म्युजिक भिडियो राम्रा जान्छ नत्र गाह्रो नै छ । अहिले म्युजिक भिडियोमा अभिनय गरेबापत आफूले सोचेजस्तो पारिश्रमिक नपाइने उहाँले बताउनुभयो ।  

अहिले सार्वजनिक भएका धेरै गीतले सङ्गीतलाई धमिलो बनाएको धेरैको टिप्पणी छ । दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका निर्देशक शान थापा अहिले म्युजिक भिडियोको अवस्था एकदमै नाजुक रहेको टिप्पणी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “टिकटकले गर्दा युट्युब भ्युजमा पनि कमी आएको छ । जब बजारमा सामान बिक्री हुँदैन भने लगानीकर्ताले किन लगानी गरोस् ।” पहिला महिनामा एक दर्जन म्युजिक भिडियोको निर्देशन गरिन्थ्यो भने अहिले त्यो अवस्था छैन ।

एक समय म्युजिक भिडियोमा अभिनय गर्ने मोडलको ट्यागलाइनलाई समेत कलाकार र टिकटक स्टारले परिमार्जित गरिदिएका थिए । अभिनेता राजेश हमाल, दयाहाङ राई, विपिन कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, प्रदीप खड्कादेखि आर्यन सिग्देलसम्मका कलाकार म्युजिक भिडियोतर्फ आकर्षित हुनुभएको थियो तर अहिले चलेका चलचित्रकर्मीको ट्यागलाइनले समेत म्युजिक भिडियो चल्न धौ धौ छ ।