• २२ वैशाख २०८१, शनिबार

राजधानीमा नियमित नाटक

blog

काठमाडौँ, वैशाख १३ गते । राजधानीमा रहेका नाटकघरमा दिनहुँजसो नाटक मञ्चन हुने गरेको छ । नाटकका दर्शक सीमित भए पनि नियमित रूपमा नाटक मञ्चन हुनु नाटक पारखीका लागि खुसी विषय हो । नियमित नाटक मञ्चनले रङ्गकर्मीमा उत्साह र जाँगर थपिएको छ । थिएटरमा नाटक हेर्न दर्शक आऊन्न/आऊन् नयाँ नाटकको अभ्यास र प्रदर्शन भने चलिरहेको छ । यो क्रम काठमाडौँमा मात्र सीमित नभएर काठमाडौँबाहिरका नाटकघरमा समेत चलिरहेको छ ।  

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख १३ देखि २२ सम्म नाटक ‘ए आई’ मञ्चन हुँदै छ । वैशाख ३ गते सो नाटक एक सो मात्र मञ्चन गरिएको थियो । निर्देशक पवित्रा खड्काका अनुसार नाटकले विशेषतः शारीरिक हाउभाउमार्फत नै कथा भन्ने प्रयास गरेको छ । यसभित्र संवादविहीन माध्यमले आममानिसले आफूभित्र थुप्रिएको मनको कुरा पोख्न सक्छ भन्ने कुरा दर्शाउन खोजिएको छ ।

मण्डला थिएटरमा वैशाख १४ गतेदेखि नाटक ‘बाखाम्मास् मुन्दुममा मान्छे’ मञ्चन गरिने भएको छ । निर्देशक किरण चाम्लिङ राईले नाटकले किराँत सभ्यता, संस्कृति र इतिहासको कथा देखाउन खोजेको बताउनुभयो ।

नाटकमा साल्पा–सिलिचुङको सांस्कृतिक यात्रामा निस्केका सिखुम र सायाबिच भैरुङपाती, सुनापाती टिप्न जाने सन्दर्भमा प्रेम सम्बन्ध स्थापित हुन्छ । उनीहरू भागी जान्छन् । उनीहरूको भागी विवाहलाई सामाजिक–सांस्कृतिक वैधानिकता दिन कलिया (लमी) ‘चोरको सोर’ रित बुझाउन सायाको माइतीघरमा आउँछन् । गाउँ समाजबिच कलियाले आफ्नो रित थाल्छन् । सायाको बाउ पहिले साल्पा–सिलिचुङ जाँदा नै हराएको कुरा र छोरीले पनि त्यही ठाउँबाट भागी गएकोमा सायाकी आमाले दुःख व्यक्त गर्छिन् । आफूहरूले पनि साल्पा–सिलिचुङ जाँदा नै भागी विवाह गरेको कुरा उप्काउँछिन् । साल्पा–सिलिचुङप्रति केही सन्देह व्यक्त गर्छिन् । तब कलियाले साल्पा–सिलिचुङ त सुम्निमा–पारुहाङले मायाप्रेम गरेको पवित्र ठाउँ हो भनेर मुन्दुमी कथा थाल्छन् । मिथकीय कथाबाट नाटक अघि बढ्छ । साल्पा–सिलिचुङ क्षेत्रमा नै सृष्टिमा पहिलो मानिस बनेको कुरा मुन्दुमको कथाबाट भनिन्छ । सुम्निमा–पारुहाङको प्रेमकथालाई देखाइन्छ । उनीहरूकै प्रेमबाट मानव–सृष्टि सुरु भएको कुरा जिकिर गरिन्छ । अनि मात्रै सायाकी आमाले रित स्वीकार गर्छिन् । सिखुम र सायाको प्रेम विवाहलाई सामाजिक–सांस्कृतिक रूपमा वैधानिकता दिइन्छ ।  नाटकमा एलिशा राई, अनिल सुब्बा  वेदना राई, विष्णु मोक्तान मानहाङ, लावती प्रतिना राई,  सायोक मुकारुङ,  पुनमलक्ष्मी मगर,  ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राईलगायतको अभिनय रहेको छ ।

पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा नाटक ‘स्मृति बिक्री केन्द्र’ मञ्चन भइरहेको छ । साहित्यकार बुद्धिसागरको कथामा आधारित नाटकको निर्देशन धुव्र पौडेल र रङ्गकर्मी ऋतेशले नाट्य रूपान्तरण गर्नुभएको छ । वैशाख १ देखि १५ गतेसम्म नाटक मञ्चन हुने छ । नाटकले स्मृतिको चित्रणमार्फत सामाजिक तथा मनोवैज्ञानिक रूपमा यथार्थताको चित्रण गरेको नाट्य समूहको भनाइ छ । एक जना मान्छे स्मृतिभित्र बाँचेर हेर्दा उनले देख्ने संसार नै नाटकको सार हो । नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु भुसाल, प्रसुना भण्डारी, लक्ष्मण डुम्रे, उमा पुनलगायत कलाकारको अभिनय रहेको छ ।

झापाको दमकस्थित कदम थिएटरमा नाटक ‘आरनको गीत’ वैशाख ७ देखि मञ्चन भइरहेको छ । सिजन दाहाल र सुमन लिङ्देनको नाटकलाई मनिक शङ्करले निर्देशन गर्नुभएको छ । निर्देशक शङ्करकै एकल प्रस्तुति रहेको नाटकले सामाजिक तथा वर्गीय समाजमा भोगाइको अनुभूतिलाई चित्रण गरेको बताइन्छ । नाटकमा प्रकाशमा जीवन बराल र नवीन रिजालले समायोजन गर्नुभएको छ ।  सङ्गीतमा पुष्पा राई, पारुबा राई, प्रविन भण्डारी, रीतु दाहाल र दिपेश मगर रहेका छन् ।