• १९ वैशाख २०८१, बुधबार

कला गतिविधिले जगाएको उत्साह

blog

काठमाडौँ, चैत ३० गते । पछिल्लो समय समाजलाई जस्ताको तस्तै रङ्गमार्फत उतार्ने तथा सांस्कृतिक आदानप्रदान गर्ने दरिलो माध्यमका रूपमा स्थापित हुँदै गएको छ, चित्रकला । चित्रकारले मनमस्तिष्कले सोच्न नसकेका विषयलाई चित्रमा सुन्दर आकार दिने गर्छन् । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली नेपालमा अहिले चित्रकलाले व्यावसायिक गति लिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले चित्रकला विस्तार भइरहेको छ । विभिन्न क्याफेमा कला प्रदर्शनी हुन्छ । यसबाहेक अपार्टमेन्ट र हाउजिङहरूमा पनि कला सजिन थालेका छन् । यसले कलाको महत्व झन् बढेर गएको छ ।” 

उहाँका अनुसार यो वर्ष सामूहिक र एकल गरी लगभग ६० देखि ७० वटा प्रदर्शनी भए । यो वर्ष कला क्षेत्रमा नयाँ पुस्ताको आगमन देखिएको पनि उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले कलेजहरू पनि थपिए । अहिले तीन वटा विश्वविद्यालयका चार ठाउँमा स्नातक तहमा चित्रकला पढाइन्छ । यो विषय लिएर यसमा भविष्य छ भन्नेहरू धेरै छन् ।” 

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्य नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चित्रकलाको वार्षिक निर्यात १३ प्रतिशतले वृद्धि भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धातु मूर्तिकला त पहिलाको भन्दा ६५ प्रतिशतले वृद्धि भएको छ । यति हुँदा पनि यहाँका स्थानीय कलाकार खासै सन्तुष्ट छैनन् । जति निर्यात हुनुपर्ने हो, त्यति नभएको उनीहरूको गुनासो छ ।” रुस–युक्रेन युद्धले युरोप र अमेरिकामा जाने सामान २० प्रतिशतले घटेको उहाँको भनाइ छ । 

अध्यक्ष शाक्य अहिले भइरहेका विभिन्न प्रदर्शनीले कलाकारलाई माथि उठाउने काम भइरहेको बताउनुहुन्छ । “पछिल्लो समय कला प्रदर्शनी बढ्दो छ, कला बिक्दो छ । कतिपय कलाकारले आफ्नै ग्यालरीबाट चित्र बेच्दै आएका छन् । यसले कला गतिविधिमा उत्साह जगाएको छ । अझै पनि यसको बजार भने प्रस्ट भएको छैन । महँगो मूल्य र चित्रकलालाई नबुझ्नाले पनि यसको मौलिकता हराउँदै गएको छ,” उहाँको भन्नुहुन्छ ।  चित्रकलासहितको कलामा देखिएको आकर्षण तथा प्रदर्शनीमा आएको व्यापकताले यसमा केही विकास भएको देखिए पनि जति हुनुपर्ने हो त्यति नभएको गुनासो चित्रकारहरूको छ ।