• २० मङ्सिर २०८२, शनिबार

पीडाचक्र

blog

तिम्रा सुनियोजित उतारचढावमा

मेरा निष्कलङ्क उत्साह नगुम्स्याऊ

भयभीत रासायनिक हतियारको युद्धमोर्चामा

खोइ कहाँ मिल्छ र !

समवेत भावनाको आत्मीयता

सुन्दर सपनाहरू बिच्किएका बेलामा,


तिम्रा चरम स्वेच्छाचारी दमनमा

मेरा निर्दोष विचार नखुम्च्याऊ

व्याप्त हिंसाको चव्रmव्यूहमा निसास्सिँदा

खोइ कहाँ झाँगिएला र !

सहनशीलताको सभ्यता

सेवादायी सम्बन्ध चुँडिएको बेलामा,


तिम्रा घृणित र साँघुरा प्रयोगशालामा

मेरा सुनौला आविष्कारहरू नभत्काऊ

विध्वंसको विकृत उन्मादमा घेरिँदा

खोइ कहाँ मुस्कुराउँछ र !

वसन्त बहारको मोह

मानवीय संवेदनाको मर्म लाछिएका बेलामा,


तिम्रा षड्यन्त्री÷छलछामका रापमा

मेरा उदार भावना, विचारका अनुष्ठानहरू नचर्काऊ

थिलथिलो व्यग्रताको ऐँठनमा पिल्सिँदा

खोइ कहाँ खोजिन्छ र !

सहअस्तित्व र संयमताको सम्बन्ध

स्वाधीनता र अधिकार कुण्ठित भएको बेलामा ।