• १२ पुस २०८१, शुक्रबार

रैथाने सङ्गीतका सारथि

blog

मौलिक गीत/सङ्गीतमा छुट्टै मिठास छ । घण्टौँ घोत्लिएर सबैलाई मन्त्रमुग्ध बनाउन खपिस हुनुहुन्छ नारदमणि हार्तम्छाली । भित्री मनमा मौलिक बाजा संरक्षणको हुटहुटी छ । कलाका सबैजसो विधामा उत्तिकै रमाएका भेटिनुहुन्छ हार्तम्छाली । सङ्गीतले भूगोल चिनाउनु पर्छ भन्नेमा उहाँ विश्वास गर्नुहुन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छाली विभिन्न प्रतिभाका धनी हुनुहुन्छ । मूर्तिकारका रूपमा पहिचान बनाउनुभएका उहाँले ललितकला क्याम्पसबाट कलामा स्नातक र त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा अवस्थित सहिद स्मारक र कास्कीको सिकलेसको शान्तिस्तम्भ उहाँले बनाउनुभएको हो । यी दुवै आज पनि उत्तिकै चर्चित छन् । भोजपुरमा जन्मनुभएका हार्तम्छाली अहिले ६६ वर्षको हुनुभयो । उहाँभित्र अहिले पनि उत्तिकै जोस र जाँगर छ । 

काठमाडौँको सहरी वातावरणदेखि भोजपुरको उकाली–ओरालीहरूसँग जीवनका सुखदुःख बाँड्दै हिँड्नुभएका उहाँलाई थाहा नभएको सिर्जना खासै छैनन् होला । किराँती संस्कृतिको गहन अध्ययनदेखि मुर्चुङ्गा बजाउनेसम्मको प्रतिभा उहाँभित्र छ । 

आफूलाई अब चित्रकारकै रूपमा चिनाउन रुचाउने उहाँ भन्नुहुन्छ, “अब मेरो अहिलेको जिम्मेवारी पनि यही क्षेत्रलाई उन्नत बनाउने नै हो ।” चित्रकला उहाँको बाल्यकालदेखिकै सहयात्री बन्यो । भिन्ची, भ्यानगग वा बाङ्देलहरूको चित्रकारिता संसारबारे अनभिज्ञ रहँदादेखि नै उहाँले गिलो माटो मुछेर भाडा बनाउन थालिसक्नुभएको थियो ।

बाल्यकालमा माटोका चराहरू बनाउने, गुजरगानोको ढ्याङ्ग्रो बनाउने अनि खरीढुङ्गाले कालोपाटीमा चित्र कोर्ने । बाल्यकालमा कलाप्रति उहाँको अभिरुचि यति पोख्त थियो कि अँगार र खरीढुङ्गाले सिलौटो रङ्याउन पनि उहाँले छाड्नुभएन ।

त्यो समय उहाँका लागि अँगार आधुनिक रङ र सिलौटो महँगो क्यानभास थियो तर उहाँले रङ के हो र यसको किन प्रयोग हुन्छ भन्ने कुरा भोजपुर देउरालीस्थित स्कुलमा सात कक्षा उत्तीर्ण गरेर आठ कक्षा पढ्न धरान आएपछि मात्रै थाहा पाउनुभयो ।

रङको संसारमा त उहाँको रुचि अगाध थियो नै । स्कुलमा किताबबाहेक अतिरिक्त क्रियाकलापमा शुक्रबारे कार्यक्रम हुँदा हार्तम्छाली नाच्न, गाउन पनि उत्तिकै प्रखर रहनुहुन्थ्यो । आफ्नै उमेरका साथीहरूले ख्यालठट्टामा गीत सुनाउन अनुरोध गरेपछि पूर्वेली ठिटो लय टिपेर गीत गाउन तम्सिहाल्नुहुन्थ्यो । नाच हेरौँ त भनेर कसैले उक्साइदियो भने मजाले कम्मर मर्काउनु हुन्थ्यो । 

त्यतिबेलाको कम्मर मर्काउने बानी अहिले पनि उस्तै देखिन्छ । उहाँले आफूलाई ऊ जमानाको जस्तो जाँगरिलो र फुर्तिलो बनाइराख्नुभएको छ । ‘सङ्घर्ष हो जीवन’ भन्ने राल्फाकालीन गीत/सङ्गीतसँग परिचित उहाँले तिसको मध्य दशकमा जीवनमा सङ्घर्षको विकल्प छैन भन्ने बुझिसक्नुभएको थियो ।

धरानको शिक्षा निकेतनमा पढ्दा उहाँले देवकोटाको मूर्ति बनाउनुभयो । त्यो सिर्जनाले धेरै चर्चा पाएपछि उहाँको उत्साह झनै बढेर गयो । धरानमा अध्ययन गर्दै जाँदा काठमाडौँमा चित्रकला पढाइ हुने कलेज छ भन्ने थाहा पाएपछि उहाँको मन यतै तानियो । धरानले धेरै कुरा सिकायो, काठमाडौँले थप आफ्ना सिर्जनामा मलजल कसरी गर्ने भन्ने सिकायो । प्रतिभामा निखार ल्याउने कला र हुटहुटी सिकायो । 

कलाका विभिन्न विधामा आफूलाई माझ्दै अघि बढ्न तम्सिनुभएका उहाँले केही गर्ने अठोटका साथ गोजीमा १५ सय रुपियाँ बोकेर काठमाडौँको यात्रा तय गर्नुभएको थियो । आफूले सोचेभन्दा धेरै फरक रहेको अहिले पनि उहाँ स्मरण गर्नुहुन्छ । खल्तीको पैसा बिस्तारै रित्तिँदै गयो, कोठा भाडादेखि पढाइ खर्च । केही समयपछि खाना जुटाउनसमेत कठिन हुन थाल्यो ।

तीन दिनसम्म उसिनेको आलु र चिउरा खाएर सहरमा आफ्नो सपना पूरा गर्ने अठोट बोकेरै हिँडेका ती दिन अहिले उहाँलाई सपना जस्तो लाग्छ । अध्ययन र कामको खोजीमा सहर आउने धेरै युवा जमातको भोगाइ जस्तै उहाँको विगत पनि मिश्रत थियो । यता कामको खोजी गर्ने क्रम पनि चलिरहेको थियो ।

त्यसपछि उहाँले झोँछेस्थित बालसाहित्यकार शान्तदास मानन्धरको प्रेसमा कम्पोजिटरको काम पाउनुभयो । अक्षरमा लगाव त पहिलेदेखि नै थियो । काम पनि उहाँले त्यस्तै नै पाउनुभयो । 

प्रेसमा छापिएका हरेक पुस्तक र सामग्रीलाई ध्यानपूर्वक नियाल्ने जिम्मेवारी थियो । बिस्तारै अध्ययन गर्ने उहाँको स्वभाव नै बन्न पुग्थ्यो । अक्षरप्रतिको मोह र क्रियाकलाप देखेपछि प्रेसवालाले यी मानिस पक्कै पनि पञ्चायतले खटाएको जासुस हुनु पर्छ भन्ने अड्कल काट्न थाले । त्यही दिनदेखि जागिर सकियो । बल्ल बल्ल भित्रिएको खुसी धेरै समय टिक्न पाएन । फेरि सङ्घर्षको अर्को अध्याय सुरु भयो । सङ्घर्ष गर्ने मानिसको कथा कहिल्यै सकिँदैन । सायद यो कुरा हार्तम्छालीको जीवन सन्दर्भमा पनि उस्तै गरी लागु हुन्छ, जसरी संसारका अरू सङ्घर्षशील मान्छेका जीवन कथामा लागु हुन्छन् । हार्तम्छाली भावुकताका समृद्धशाली व्यक्ति हुनुहुन्छ । २०५३ सालको अन्त्यतिर उहाँ काठमाडौँ छाडेर भोजपुरको देउरालीतिर लाग्नुभयो । त्यही ठाउँको गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित पनि  हुनुभयो । त्यसपछि उहाँले कला मात्र नभएर राजनीतिको रङहरू पनि बुझ्न थाल्नुभयो । गाउँ फर्किएपछि भने उहाँले गाउँमै चित्रकला, नृत्यकला, सङ्गीतबारे आफूले सिकेको अनुभव अरूलाई पनि बाँड्न थाल्नुभयो । 

नेपाली गीत/सङ्गीत त्यसमा पनि मौलिक गीत/सङ्गीतप्रति उहाँको अनौठो लगाव छ । पात, बाँस र काठबाट निकालिने दर्जनौँ धुनको मिठास उहाँले आफ्ना सिर्जनामा भर्नुभएको छ । काठको सारङ्गीको बाजा बजाएर उहाँले अन्तरक्याम्पसमा गोल्ड मेडलसमेत जित्नुभएको थियो । हराउने खालका बाजा र त्यसका गीत र शैलीहरू खोज्ने गरेको उहाँले बताउनुभयो । 

रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराएपछि भने उहाँमा मौलिक बाजाप्रतिको मोहले थप उचाइ कायम गरेको हो । हराउँदै गएका मौलिक धुनलाई बचाउने अभियानमा उहाँ खरो रूपमा उभिनुभएको छ  यतिबेला । हालसम्म दुई दर्जन बढी गीत तयार गर्नुभएका हार्तम्छालीका भाकामा प्रशस्तै मौलिक बाजाको सङ्गीत अनुभूति गर्न पाइन्छ ।  यसका साथै उहाँले माइला लामाको ‘मातृभूमि’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको ‘तिखुवामा पुल छैन’ भन्ने गीतको भिडियोमा अभिनय गर्नुभयो । हात पा¥यो, मारुणी, साकेला, झ्याउरे, गोठाले गीतका भाकाहरू अहिले पनि उहाँलाई उत्तिकै मन पर्छन् । उहाँ चित्रकारितामा मात्र सीमित हुनुभएन । चलचित्रका पर्दामा पनि उतिकै रमाउने पात्रका रूपमा उहाँलाई धेरैले चिनेका छन् ।  चलचित्र बलिदानको ‘हे साइलो मकैबारीमा’ भन्ने बोलको गीतमा चरित्र पात्रका रूपमा आफ्नो अभिनय कौशलता देखाउनुभयो उहाँले । पचासको दशकमा बनेको यो चलचित्रमा पञ्चायती व्यवस्थामा विद्रोहीलाई सघाउने एउटा किसानको भूमिकामा उहाँले आफूलाई उभ्याउनुभएको छ । त्यसपछि किशोर राणाको चलचित्र ‘समर्पण’ मा उहाँले अभिनय गर्नुभयो । पछिल्लो समय बनेको टेलिशृङ्खला ‘सिंहदरबार’ मा उहाँले गरेको अभिनयलाई धेरैले रुचाएका थिए । 

आफूलाई भुइँफुट्टे कलाकार भन्न रुचाउनुहुने हार्तम्छाली नृत्यमा पनि उत्तिकै प्रखर हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले नृत्य सिकेको होइन, विद्यार्थी जीवनमा विभिन्न कार्यक्रममा जाँदा अरूले गरेको नृत्य हेरेर सिकेको हो ।” कलाका अनेकौँ विधामा आफूलाई सशक्त रूपमा उभ्याउन सफल हार्तम्छाली रैथाने गीत÷सङ्गीतका अनुसन्धानकर्ताका रूपमा पछिल्लो समय लागिरहेका भेटिनुहुन्छ । देशका विभिन्न भेगमा पुगेर अनुसन्धान गर्नेदेखि प्रतियोगितासमेत आयोजना गर्नु पर्छ भन्दै लागिरहनुभएका उहाँको अठोटले पक्कै पनि नेपाली कला साहित्यलाई थप उचाइमा पु¥याउने छ ।